एजेन्सी । पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्होले म्यानचेस्टर युनाईटेड र चेल्सी भन्दा म्यानचेस्टर सिटीको 'बी' उत्कृष्ट रहेको बताएका छन् ।
स्काई स्पोर्ट्सको फुटबल विश्लेषक रहेका मोरिन्होले आफ्ना दुई पूर्व क्लब युनाईटेड र चेल्सी भन्दा सिटीको 'बी' टिमले यस सिजन इन्लिश प्रिमियर लिगको उपाधि जित्ने सम्भावना बढी रहेको बताए ।
ओल्ड ट्राफोर्डमा युनाईटेड र चेल्सीबीचको खेलअघि फुटबल पण्डितमा डेब्यु गरेका मोरिन्होले युनाईटेड र चेल्सी यस सिजन उत्कृष्ट टिम नरहेको बताए ।
'मेरो लागि शीर्ष चार, म्यानचेस्टर सिटी, टोटेन, लिभरपुल र म्यानचेस्टर सिटी 'बी' टिम,' मोरिन्होले स्काई स्पोर्ट्समा भने,'मैले हिजो उनीहरुको बेन्च हेरे । त्यहाँ केहि इमेज थियो । मलाई लाग्छ उनीहरूको 'बी' टिमले उपाधि जित्न सक्छ ।'
मोरिन्हो युनाईटेड र चेल्सीका पूर्व प्रशिक्षक समेत हुन् । मोरिन्होले तीन पटक प्रिमियर लिग जितेका छन् । तर, पछिल्लो समय क्लब विहीन बनेपछि प्रशिक्षक मोरिन्हो फुटबल विश्लेषकको रुपमा स्पोर्ट्स टेलिभिजन स्काई स्पोर्ट्ससँग आबद्द भएका हुन् ।
गत सिजन युनाईटेडबाट बर्खास्तमा परेपछि मोरिन्हो क्लब विहीन बनेका हुन् ।
मोरिन्होले अहिले स्काई स्पोर्ट्समा पूर्व खेलाडी ग्यारी नेभिल, जेमी कारघर, ग्रेमी सउनेस र जेमी रेडन्यापसँग मिलेर खेलको विश्लेषण गरिरहेका छन् ।