एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड नेयमारले लिग वानको पहिलो खेल नखेल्ने भएका छन् । फ्रान्सको लिग च्याम्पियन पीएसजीका स्टार नेयमारले निम्सविरुद्वको पहिलो खेल नखेल्ने भएका हुन् ।
क्लबका स्पोर्टिङ डिरेक्टर लियोनार्दोले २७ बर्षिया खेलाडीले क्लब छाड्ने सम्भावना पहिलाको भन्दा प्रवल रहेको भन्दै लिग वानको पहिलो खेल नखेल्ने बताएका हुन् ।
तर उनले क्लबले सरुवाको कुनै अनुमति नदिएको समेत स्पष्ट पारेका छन् ।
विश्वको क्लब फुटबलका सर्वाधिक महङ्गा खेलाडी नेयमार पछिल्लो समय बार्सिलोना वा रियल मड्रिड फर्कन खोजिरहेका छन् ।
उनी सन् २०१७ मा पीएसजी पुगेका थिए । कतारी लगानीकर्ताले करिब २ सय मिलियन पाउण्ड खर्चिएपछि उनी फ्रान्सेली लिग पुगेका थिए ।
उनले पछिल्ला दुई सिजनमा ३४ गोल गरेका छन् । तर चोटका कारण दोस्रो सिजनका अधिकांश खेल गुमाउन बाध्य भए ।