काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि राष्ट्रिय महिला फुटबल टिमले बन्द प्रशिक्षण आज (आइतबार) बाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागका लागि आइतबारबाट औपचारिक रुपमा महिला टिमको बन्द प्रशिक्षण सुरु हुने जनाएको छ ।
नेपाली टोलीले दुई साता अघिबाटै प्रारम्भिक प्रशिक्षण सुरु गरेको भएपनि औपचारिक रुपमा आइतबारबाट बन्द प्रशिक्षण गर्न लागेको हो ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक हरि खड्काले एन्फाले महिला टिमको बन्द प्रशिक्षण आइतबारबाट राखेको खेलपाटीलाई जानकारी गराए ।
‘महिला टिमको क्लोज क्याम आइतबारबाट गर्ने भएका छौं । अबको दिनमा नक्सालमा तयारी गर्नेछौं,’ प्रशिक्षक खड्काले भने ।
प्रशिक्षक खड्काको अनुसार नेपाली टोलीको बन्द प्रशिक्षण नक्सालस्थित प्रहरी प्रधान कार्यालयको मैदानमा हुनेछ ।
राष्ट्रिय टिमको तयारीका लागि मैदान अभाव भएपछि महिला टिमको प्रशिक्षण नक्सालमा सारिएको प्रशिक्षक खड्काले बताए । यसअघि महिला टिमले एन्फा कम्प्लेक्स मैदानमा प्रशिक्षण गर्दै आइरहेको थियो ।
मुख्य प्रशिक्षक खड्काले सागको तयारी लागि प्रारम्भिक चरणमा ४२ खेलाडी बोलाएका छन् । उनले यस पटक टिममा ८ नयाँ अनुहारलाई समावेश गराएका छन् ।
झापाकी सम्झना लावती, काठमाडौंकी प्रिति राई र मनिषा थापा, तथा रौतहटकी रोजिना श्रेष्ठ, रेविका राई, सलोनी राना मगर, सविता राना मगर र मनिषा रावत पहिलो पटक प्रशिक्षणमा परेका छन् ।
सागको तयारी लागि एपिएफ र आर्मीबाट सर्वाधिक १२, रौतहटबाट ८, पुलिसबाट ७, काठमाडौंबाट २ र झापाबाट १ खेलाडी बोलाईएको छ ।
एपीएफबाट एन्जिला तुम्बाप्पो सुब्बा, निशा थोकर, सरु लिम्ब, मञ्जली कुमारी योन्जन, रेखा पौडेल, हिरा कुमारी भुजेल, गिता राना, मनमाया लिम्बु, रेनुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भण्डारी र अनिता के सी रहेका छन् ।
आर्मीबाट अन्जना राना मगर, पुजा राना, विमला विश्वकर्मा, पुनम जर्धा मगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, बिमला चौधरी, सर्मिला थापा, दिपा राई र कृष्णा खत्री रहेका छन् ।
यस्तै रौतहटबाट समिक्षा घिमिरे, बसन्ती नाथ घिमिरे, रश्मि कुमारी घिसिङ, मनिषा रावत, सविता मगर, सलोनी राना मगर, रेविका राई र रोजिना श्रेष्ठ छन् ।
यता,पुलिसबाट निरु थापा, दिपा न्यौपाने, उषा नाथ, घिम कुमारी गुरुङ्ग, अमृता जैसी, सृजना खड्का र निर्मला बिश्वकर्मा रहेका छन् ।
काठमाडौंबाट मनिषा थापा र प्रिति राई रहँदा झापाबाट सम्झना लावती रहेका छन् ।
मंसिर १५ बाट २४ सम्म नेपालमै आयोजना हुने सागको महिला फुटबल खेल पोखरामा रंगशालामा हुनेछ ।