एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले सिजनको पहिलो खेलमा आज (शनिबार) वेष्ट ह्यामको सामना गर्दैछ ।
नयाँ सिजनको पहिलो खेल सिटीले वेष्ट ह्यामसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा सिटीको लक्ष्य सुखद सुरुवात गर्नु हुनेछ । यस सिजन पनि उपाधि जित्ने लक्ष्य लिएको सिटी वेष्ट ह्यामलाई सहजै हराउन चाहन्छ ।
सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवालाले क्लबले उपाधि जित्ने लक्ष्य लिएको बताएका छन् । यस्तै सिटी नयाँ कप्तान डेभिड सिल्भाको कप्तानीमा मैदान उत्रने छ ।
यता वेष्ट ह्याम पनि सिटीलाई स्तब्ध बनाउदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । वेष्ट ह्यामलाई घरेलु समर्थकको साथ रहनेछ ।
लिग अन्तर्गत शनिबार अन्य पाँच खेलहरु समेत हुनेछ ।
शनिबार टोटेनहमले एस्टन भिल्लासँग खेल्दा एभर्टनले क्रिस्टल प्यालेससँग खेल्नेछ । त्यस्तै बर्नेमाउथ र सेफिल्ड युनाईटेड, बर्नली र साउथह्याम्पटन तथा वाट्फोर्ड र ब्राइटनबीच खेल हुनेछ ।
प्रिमियर लिगमा लिभरपुलले सुखद सुरुवात गरिसकेको छ । प्रिमियर लिगको उद्घाटन खेलमा लिभरपुलले नर्विच सिटीमाथि ४–१ को जित निकालेको थियो ।