काठमाडौं । सागर थापा भर्खरै मनाङ मर्स्याङ्दी छाडेर थ्री स्टार क्लब आएका थिए । लिगमा अन्तिम चरणका खेल बाँकी थिए । त्यही खेलको नतिजाले विजेता टोलीको टुङ्गो लगाउने समिकरण बनेको थियो । लिग जित्न थ्री स्टारलाई बराबरीको नतिजा पर्याप्त थियो । मनाङलाई जित मात्र हैन, थ्री स्टारको हार समेत चाहिएको थियो ।
एक हिसाबले सागर आफै समेत खेल जीवनको अन्तिम समयतिर थिए । अन्तिम पटक साफ खेल्दै फुटबलबाट बिदा लिने उनको योजना थियो । उनले पटक पटक राष्ट्रिय टिमबाट बिदा लिने निर्णय नगरेका हैनन्, तर फुटबलको तत्कालिन नेतृत्वले उनको सन्यासको निर्णयलाई स्विकार गरेन । सायद नेपाली फुटबलले समेत सागरको विकल्प भेटिसकेको थिएन ।
राष्ट्रिय टिमका कप्तान रहेका सागरले ७१-७२ को सिजनमा थ्री स्टारको नेतृत्व गरेका थिए । ललितपुरे क्लबलाई राष्ट्रिय लिगको उपाधि दिलाउने जिम्मेवारी उनकै काँधमा थियो ।
उनी लिगको अन्तिम खेलको तयारीमा थिए ।
दुई दिन अघि मात्र सागर छोरा लिएर अभ्यास गर्न गएका थिए । बिहानको अभ्यास सकेका सागरलाई रितेस (थापा)ले एक्कासी फोन गरे । खाना खान बोलाए । सागर आधा घण्टा जति सुन्धारातिर अल्मलिए । त्यसबीचमा रितेसले तीन-चार पटक सागरलाई फोन गरिसकेका थिए । सागरले अचम्म माने । उनले तनावको कारण पनि सोधे । तर रितेस जवाफ विहिन थिए ।
जब उनी खाना खान होटक पुगे, केही पृथक दृष्यहरु देखिए । अन्जन केसी र विकास सिंह क्षेत्री बिहानैबाट पुलिसको नियन्त्रणमा थिए । सागर समेत पुगेपछि प्रहरीले सामान्य सोधपुछ सुरु गरे । नेपालले खेलेका केही अन्तराष्ट्रिय खेलमा सोधपुछ केन्द्रित थियो । जुन खेल फिक्सिङको शंकाको घेरामा थिए । प्रहरीले सागरसंग समेत सबै खेलको जानकारी माग गरे ।
प्रहरीले सागरले राष्ट्रिय टिमबाट खेलेका सबै खेलको विस्तृतमा जानकारी माग गर्यो । उनले खेलेका सबै खेलको मसिनो गरि विश्लेषणहरु भए । जापान र ईराकसंग खेलेका खेलमा बिषय केन्द्रित थिए ।
लगत्तै प्रहरीले थप छलफलका लागि टेकुस्थित महानगरिय प्रहरी परिसर जान आग्रह गरे । प्रहरीले सन्दीपलाई समेत बोलाउन सागरसंग आग्रह गर्यो । टेकु पुगेपछि एसपी सवेन्द्र खनालले खेलाडीमाथि पुन सोधपुछ सुरु गरे । उनले समेत फिक्सिङको सम्भावित खेलबारे एकसरो केरकार गरे ।
खेलाडीले शंकाको घेरामा रहेका खेलबारे प्रहरीलाई विस्तृतमा बुझाउने कोशिश गरे । प्रहरीका प्रश्न थिए, जोर्डनसंग पहिलो म्याचमा ९ गोल कसरी भयो ? चार दिनपछि घरेलु मैदानमा १–१ गोलको बराबरी नतिजा कसरी निस्कियो ?
सुरुमा २७ खेल शंकाको घेरामा परे । अनि त्यो शंका १७ मा झर्यो । अनि ९ हुदै अन्तिममा ४ खेलमा फिक्सिङ गरेको आरोप पत्र तयार हुदै थियो ।
दिन ढल्किदै गयो । खेलाडीहरु टेकुस्थित प्रहरी कार्यालयमै हरेक खेलको नतिजा प्रहरी सामु प्रस्तुत गरिरहेका थिए ।
जब साँझको ७ बज्यो । प्रहरीले खाना खाएर रातमा समेत टेकुमै बस्न पर्ने बताए । बल्ल खेलाडीहरुले चाल पाए । प्रहरीले हिरासतमा राखेर फिक्सिङको थप अनुसन्धान गर्न चाहन्थ्यो । दिनभर अनौपचारिक केरकार गरि खेलाडीलाई थुनामा राखेर थप अनुसन्धान गर्ने प्रहरीको योजना रहेछ ।
भोलीपल्ट दसैको छुट्टीको समय थियो । प्रहरी, अदालत बन्द हुदै थिए । सार्वजनीक बिदाको अघिल्लो दिन थुनामा राखेर प्रहरीले खेलाडीमाथि फिक्सिङको अनुसन्धान सुरु गर्यो । अनि अदालतमा फिक्सिङको आरोपमा खेलाडीमाथि देशद्रोहको मुद्वा दर्ता गर्यो ।
‘फुटबलको आफ्नै नियम हुन्छ । फुटबलमा केही नचाहिने काम भए फिफा, एएफसीले कारबाही गर्छ । तर हाम्रो बिषयमा प्रहरी संलग्न भयो । सायद आजको अवस्थामा पुग्न तत्कालिन प्रहरी नेतृत्वले हामीलाई माध्यम बनायो ।’ सागर भन्छन्, ‘एक समय फुटबलमा सागर थापा ठुलो नाम थियो । सबैले चिन्थे । त्यही नामलाई प्रयोग गरेर केही मानिसले स्वार्थ पुर्ती गरे भन्ने लाग्छ ।’
त्यही समय हो, एन्फा भित्रका विवाद उत्कर्षमा थियो । तत्कालिन अध्यक्ष गणेश थापाविरुद्व एक समूह अन्तराष्ट्रिय समुदायसंग हार गुहार गरिरहेको थियो । थापाविरुद्व फिफा र एएफसीमा टन्नै उजुरी परेका थिए । उनै थापालाई अन्तराष्ट्रिय जगतमा बदनाम बनाउन आफुहरुलाई प्रयोग गरिएको दाबी सागरको छ ।
एएफसीले आजीवन फुटबलबाट प्रतिबन्ध लगाएपनि सागर फिक्सिङको आरोप स्विकार्न तयार छैनन् । तत्कालिन अध्यक्ष थापालाई दोषी देखाउने रणनीतिका साथ म्याच फिक्सिङमा आफुहरुलाई मुछिएको सागर दाबी गर्छन् ।

अदालते सफाई दियो । तर नमेटिने दाग जिन्दगीमा लाग्यो ।
त्यसअघि के थिएन सागरसंग ?
उमेर थियो । स्टारडम थियो । पैसा थियो । ठुलो नाम थियो ।
जता निस्कियो मान्छेको भिड जम्मा हुने गर्दथ्यो । त्यो समय फुटबल औधी लोकप्रिय थियो । उनी त्यही फुटबलका कप्तान थिए । उनी सागर थापा थिए ।
तर जब म्याच फिक्सिङको घटनामा सागर मुछिए, जिन्दगीले १ सय ८० डिग्रीको फन्को मार्यो ।
उनी सपनाको स्वर्णिम संसारबाट एक्कासी भुँईमा पछारिए झै भए । जिन्दगी कष्टकर बन्न थाल्यो । नजिकका सम्बन्धहरु टाढिन थाले । परिचित अनुहार बिरानो बन्न थाले । दैनिक आउजाउ हुने घरका ढोकाहरु बन्द भए । कतिले बाटो मोडे, कतिले सम्बन्धहरु तोडे । हिजो जो मान्छे एक भेटका लागि तड्पिन्थे, उनीहरु सत्तोसराप गर्न थाले । जिन्दगी र सम्बन्ध अजिबको हुने रैछ, सागलले बल्ल बुझे ।
उनलाई सबै भन्दा ठुलो समस्या मानिसका अगाडी उभिन भयो । कसरी सम्झाउने, के भन्ने, कसरी आफुलाई निर्दोष देखाउने ? कुनै भेउनै पाएनन् ।
‘देश भनेको एउटा चोरले अर्को चोरलाई सहयोग गर्ने ठाउँ रहेछ । जहाँ हामी चोर हुन सकेनौ ।’ सागरको बुझाई यस्तै छ ।
एक समय सागरसंग समेत जीवनमा धेरै विकल्पहरु थिए । तर उनले भने फुटबलको विकल्प देखेनन् । परिक्षा अगाडी हुदाँ फुटबल खोजे । पटक पकट ब्रिटिस लाहुरे भिड्न पोखरा पुग्थे । तर राष्ट्रिय टिमको खेल हुने बित्तिकै काठमाडौंको हान्निहाल्थे ।
उनले सपना पालेका थिए, राष्ट्रिय खेलाडी बन्ने, राष्ट्रिय टिमबाट खेल्ने ।
सागर भन्छन्, ‘एक हिसावमा जिवनमा फुटबल बाहेक केही नसोचिएको रैछ ।’
‘फुटबल छाडेर खुल्ला जिवनमा आउँदा हामी शुन्य हुने रहेछौ । केही थाहा नपाएको, केही नजानेको जस्तो हुने रैछ ।’ उनी भन्छन्, ‘सबै थोक हेर्ने, दुनियाँ देख्ने तर जिवन बुझ्न गाह्रो रहेछ । केही ब्यापार गरौ भनेपनि धेरै पैसा नहुने । पैसा लगानी गरौ भन्दा कति ठाउँमा नपुग्ने । त्यही कारणले अगाडी बढ्न नसकिने रहेछ ।’
सागर सहित चार खेलाडीमाथि एएफसीले आजिवन प्रतिबन्ध लगाएको छ । उनलाई फुटबलमा फर्कन गाह्रो छ । तर उनले फुटबल बाहेक जिन्दगीमा अरु केही सोचेनन्, केही जानेनन् ।
‘जिन्दगी निकै अफठ्यारो भईरहेको छ । कहाँ पुगेको मान्छे, शुन्यतामा झर्दा उठ्नै निकै गाह्रो भईरहेको छ । एक कदम समेत अगाडी बढ्न सकेको छैन ।’ सागर भन्छन् ।
मान्छेहरु भेट्न आउँछन् । हिम्मत नहार भन्छन् । तर मानिसहरुको ढाडसले सागरलाई छुदैन ।
‘मान्छेहरु अगाडी आएर हाँसेर बोल्छन् । तर उनीहरु दुखी भएर भने जस्तो लाग्दैन । त्यही भएर बाँच्न समेत गाह्रो भईसकेको छ ।’ सागर निराशा पोख्छन् ।

सागर जीवनसंग थाकेका छन् । हारेका छैनन् । उनी अझै केही गर्न चाहन्छन् । फुटबलमै केन्द्रित हुन चाहन्छन् । एकेडेमी खोल्न चाहन्छन् । आफुले जानेको फुटबल सिकाउन चाहन्छन् ।
तर प्राविधिक रुपमा उनलाई काम गर्न अफठ्यारो छ ।
‘यत्रो बर्ष फुटबल खेलको छु । धेरै राम्रो अवसर आउदाँ फुटबललाई रोजेका छु । व्यक्तिगत रुपमा २०–२५ बर्ष फुटबललाई दिएको छु ।’ सागर भन्छन्, ‘यस्तो अवस्थामा केही नहुदाँ व्यक्तिगत रुपमा गाह्रो भईरहेको छ । अब संघले समेत केही गर्दिन पर्यो भन्ने लाग्छ ।’
‘फुटबल संघले समेत मुल्याङ्न गर्दिन पर्यो । हिजो र आजको सागर थापामा फरक छ । फुटबललाई दिएको योगदान बिर्सिएको भान हुन्छ । हामी जस्तो खेलाडीलाई बिर्सिएर फुटबललाई अगाडी बढाउछु भन्न मिल्दैन जस्तो लाग्यो ।’
यि सबै कथाको केन्द्रमा एउटै प्रश्न छ, के सागर थापाले म्याच फिक्सिङनै गरेका हुन् त ?
तर उनी यसलाई ठाडै अस्विकार गर्छन् ।
‘सन् २००९ बाट राष्ट्रिय टिमको कप्तान गरे । मैले कहिल्यै फुटबल टिममा फिक्सिङ देखिन । सधै सबैलाई समेटेर राखेको हुँ । फुटबलमा नतिजा समेत ल्याएको हो । नेपाललाई फिफा वरियतामा १ सय ३५ औ स्थानमा हामीले पु¥याएको हो । हामी तिनै खेलाडी हौ ।’ सागर दाबी गर्छन्, ‘त्यो समय टिमवर्क थियो । सोही कारण नतिजा आयो । राष्ट्रिय टिममा मैले कुनै फिक्सिङ देखिन र सुनिन ।’

सन्यासपछि के गर्ने ? प्राय एन्फाका पदाधिकारी सागरलाई सोध्ने गर्थे ।
‘कोचिङको लाईसेन्स लैजादै गर ।’ सिनियरहरु सुझाव दिन्थे ।
‘म कोचिङ गर्दिन ।’ सागर जवाफ फर्काउथे ।
‘अनि के गर्छस ?’
‘संघमा आउछु ।’
‘त्यसो भए राजनीतिक गर्छत त ?’ एन्फा पदाधिकारी जिस्काउथे ।
‘अध्यक्ष बनेर फुटबल विकास गर्ने हो ।’
सागर आत्मविश्वासले भरिएको जवाफ फर्काउथे ।
उनका योजनानै यस्तै थिए ।
सन्यासपछि फुटबलको व्यवस्थापनमा आएर काम गर्ने उनको रहर थियो ।
सागर मुडी थिए । चित्त नबुझेको कुरामा सबैसंग बाझ्थे । डर भन्ने रत्ति भए थिएन । सबैलाई मुख छाडेरै गाली गर्थे ।
तर उनी सबैका प्रिय थिए । मैदान भित्र उनीमाथि खोट लगाउने ठाउँ थिएन । हक्की स्वभावका उनीको नेतृत्व शैली गज्जवको थियो ।
तर जीवन एक्कासी सुन्यतामा झर्न पुग्यो । फुटबलमा प्रतिबन्ध छ । अगाडी बढ्ने ठाउँ छैन । फिफा एएफसीको कारबाही अलि बढीनै भयो भन्ने सागरलाई लाग्छ । अदालतले सफाई दिएको छ । तर एएफसीमा अपिल गर्दा समेत निराश बनाएर पठाईदिएको छ ।
सागर अहिले लाचार जस्तै बनेका छन् । विकल्प विहिन छन् । फुटबलको मैदानमा अन्तिम सेकेन्डसंग लड्ने उनी जिवनसंग हार मान्न थालेका छन् ।
उनको अब एउटै आग्रह छ । त्यो आग्रह एन्फासंग छ । उनी चाहन्छन्, एएफसीले लगाएको प्रतिबन्ध हटाउन एन्फाले पहल गरिदियोस । फुटबल संघले चासो देखाईदियोस ।
‘देशका लागि २५ बर्ष योगदान दिएको हुँ । यसलाई नबिर्सीदिनुस । एन्फा अभिभावका हो । बाँचेर खाने अवस्था बनाईदिनुहोस । एएफसीले प्रतिबन्ध हटाए जीवनमा फेरी धेरै कुरा हुने थियो ।’