७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली

काठमाडौं। साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत भारतसँगको पहिलो खेलमा ७–० को हार। स्कोरलाइन हेर्दा नेपाली समर्थक ‘सरप्राइज’ भएनन्।
यसअघि पनि यही टोली भारतसँग योभन्दा बढी अन्तरले पराजित भइसकेको थियो। खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ पनि समर्थकभन्दा कम देखिएनन्। उनी भन्छन्, ‘अझै ५ वटा खेल बाँकी नै छन्।’
साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत यो नेपालको युवा टोलीको पहिलो अनुभवमध्ये एक हो। सुरुका १०–१५ मिनेटसम्म आफ्नो टोलीले राम्रो कम्युनिकेशन गर्दै आत्मविश्वासका साथ खेलेको श्रेष्ठ दाबी गर्छन्।
टोलीले दुई–चार गोल गर्ने अवसर समेत सिर्जना गर्यो। तर, ती अवसर गोलमा परिणत हुन नसकेपछि खेलको दिशानै उल्टियो। श्रेष्ठ स्वीकार्छन्,‘यदि सुरुमा एउटा मात्र गोल गर्न सक्या भए हामी अप हुन्थ्यौं।’
नेपाल र भारतबीचको वास्तविक अन्तरबारे प्रशिक्षक श्रेष्ठले खासै ठूलो दूरी देखेनन्। उनको दृष्टिमा फरक भनेको एउटै कुरा हो– अवसरलाई गोलमा बदल्ने क्षमता।
भारतका फरवार्ड नीरा चानु र मिडफिल्डर अनुश्का कुमारीले पाएको मौका सदुपयोग गरे। तर, नेपालका खेलाडीले त्यस्तै मौका सदुपयोग गर्न असफल भए। यही कारणले स्कोरलाइन एकतर्फी देखिएको उनको भनाइ छ।
ड्रेसिङ रूममा खेलाडीहरूको अनुहार बुझ्न सकिन्छ। भारी पराजयपछि उनीहरू अलिक चिन्तित पक्कै छन्। तर, प्रशिक्षक श्रेष्ठ भने यसलाई सामान्य मान्छन्।
उनले गत वर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न साफ महिला यु–१६ च्याम्पियनसिप सम्झे। यो प्रतियोगितामा नेपालले १० गोल खाएको थियो। त्यही टोलीका एकदर्जनभन्दा बढी खेलाडी यु–१७ मा पनि छन्।
नेपालबाट उड्नुअघि उनले यो टोली पहिलाभन्दा निखार्दै गएको दाबी गरेका थिए। पहिलो खेलमा बेहोरेको यो फराकिलो हारपछि पनि उनले त्यही कुरा दोहोर्याए।
उनी भन्छन्,‘योभन्दा अगाडिको यु–१६ मा पनि यी खेलाडीले १० गोल खाएका थिए। अहिले पनि दुई–तीन गोल त हामी आफैंको गल्तीले खायौं। कम्युनिकेशन ट्रान्सफर नमिलेको कारण भयो। अब त्यसलाई सुधार्छौं। अर्को खेलमा यस्तो दोहोरिन्न।’
दोस्रो हाफमा प्रशिक्षक श्रेष्ठले सम्झना चन्द, अस्मिता मगर, अनु माझी, लक्ष्मी ओलीजस्ता नयाँ अनुहारलाई अवसर दिए। केही क्षणमा उनीहरूले आक्रामकता पनि देखाए। तर, स्कोर गर्न सकेनन्। यही असफलतालाई उनीहरूले अबको प्रशिक्षणमा सिकाइका रूपमा प्रयोग गर्नेछन्।
हारको बाबजुद प्रशिक्षक श्रेष्ठ निराश छैनन्। उनी भन्छन्,‘पहिलो खेल हार्यौं, तर प्रतियोगिता सकिएको छैन। अझै ५ वटा खेल बाँकी छन्। यदि ती खेलमा हामीले सुधार गरेर जित निकाल्न सक्यौं भने उपाधिजित्ने सम्भावना अझै बलियो छ।’
यो हारले नेपाली टोलीलाई कमजोर देखाएको छैन। बरु अझै धेरै सिक्नुपर्ने वास्तविकता देखाइदिएको छ। अब बाँकी खेलमै निर्भर छ– के यो टोली अनुभवलाई गोलमा बदल्छन् वा निराश भएर हार मानेर नेपाल फर्किन्छ?





-1771592656087.jpeg&w=3840&q=75)

-1771557471194.webp&w=3840&q=75)




-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)

