काठमाडौं। साफ महिला यु–१७ च्याम्पियनसिपमा नेपालका लागि एउटा अधुरो कहानी हरेक पटक लेखिन्छ– भारतविरुद्धको पराजय।
अन्य प्रतिस्पर्धीलाई कडा चुनौती दिँदै मैदान छाड्ने नेपाली खेलाडीले भारतसँग खेल्दा भने कहिल्यै मुस्कान बोकेर फर्कन सकेका छैनन्।
चार पटकको भेटमा नेपाल ३० गोल खान पुग्यो। फिर्ता गर्न सकेको गोल मात्र ३। त्यो तथ्यांकले भारत र नेपालको स्तरबीचको गहिरो खाडल देखाउँछ। तर, यसपटक नेपाली टोलीले भुटानको चाम्लिमिथाङ रंगशालामा अर्कै कथा लेख्ने संकल्प बोकेको छ।
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठ गत वर्षको घरेलु पराजय अझै सम्झन्छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा यु–१६ फर्म्याटमा भएको प्रतियोगितामा भारत एकहोरो हाबी भयो र १०–० को जित निकाल्यो। तर, यो क्षण नेपाली खेलाडीका लागि निकै पीडादायीक थियो। तर, यो सम्झना अहिले पीडाभन्दा बढी प्रेरणा बनिसकेको उनी बताउँछन्।
‘भारत बलियो टोली हो। तर, हामीले अघिल्लो संस्करणमा गरेका गल्ती सच्याएका छौं। टेक्निकल पक्षमा धेरै काम भएको छ। खेलाडीले मौकाको सदुपयोग गर्न सके भारतलाई हराउन सक्छौं,’ उनी आत्मविश्वास साथ भन्छन्।
श्रेष्ठलाई थाहा छ जित्नै पर्छ भन्ने दबाब खेलाडीलाई भारी हुन्छ। त्यसैले उनी आफ्ना खेलाडीलाई गर्नसक्ने कुरा खेलमा प्रयोग गर, नतिजा आफैं आउँछ’ भन्ने सन्देश दिन्छन्।
भारतलाई भुटानको भूमी निकै फाप्छ। यही चाम्लिमिथाङ रंगशालामा सन् २०१८ र २०१९ मा भारतले उपाधि जितेको थियो। तर, नेपालका लागि यो भूमी त्यति अनुकूल छैन। यहीँ भारतसँग दुई खेल हारेको चोट अझै आलै छ।
तर, इतिहास भविष्य होइन। अहिले मैदानमा उत्रिने टोली विगतभन्दा फरक रहेको श्रेष्ठ दाबी गर्छन्। झर्ना डुमराकोटी, यामकुमारी विक, लक्ष्मी ओली, दिक्षा रायमाझी, ग्यान्शु डोल्मा लो, मीनमाया श्रेष्ठ र अंशु विश्वकर्मा, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रविना विश्वकर्मा, एन्जिलाकुमारी विक, भूमिका बूढाथोकी, आशिका कार्कीलगायत दर्जनभन्दा बढी खेलाडीले गत वर्ष पनि साफ यु–१६ प्रतियोगिता खेलेका थिए। त्यसैले नेपाली टोली तयारी र आत्मविश्वासका साथै मानसिकतामा परिपक्व भएको उनको भनाइ छ।