एजेन्सी । लियोनले फ्रेन्च लिग वान फुटबलमा विजयी सुरुवात गरेको छ ।
शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा मोनाकोलाई ३-० ले पराजित गर्दै लियोनले सिजनको सुखद सुरुवात गरेको हो ।
मोनाकोको घरेलु मैदानमा लियोनका लागि मौसा डेम्बेले, मेम्फिस डिपे र लुकास टौसर्टले एक एक गोल गरे ।
१० खेलाडीमा सिमित मोनाकोविरुद्ध लियोनले खेलको पाँचौ मिनेटमा डेम्बेलेको गोलबाट अग्रता बनाएको थियो । खेलको ३० औं मिनेटमा सेस फेब्रिग्यासले रातो कार्ड पाएपछि मोनाको १० खेलाडीमा समेटिएको थियो ।

खेलको ३६ औं मिनेटमा डिपेले गोल गर्दै लियोनलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं मिनेटमा लुकासले गोल गर्दै लियोनलाई ३-० को जित दिलाए ।
जितसँगै लियोनले पहिलो खेलबाट ३ अंक जोडेको छ । मोनाकोले हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।