एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले 'युईएफए गोल अफ दि सिजन' अवार्ड जितेका छन् ।
युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले शुक्रबार घोषणा गरेको च्याम्पियन्स लिगको 'गोल अफ दि सिजन' मा मेस्सीको गोल उत्कृष्ट ठहरिएको हो ।
मेस्सीले सेमिफाइनल अन्तर्गत पहिलो लेगमा लिभरपुलविरुद्ध गरेको गोल उत्कृष्ट बनेको हो । उनले डिबक्स बाहिरबाट उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । उक्त खेलमा बार्सिलोना ३-० ले विजयी भएको थियो ।
यस अवार्ड जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोसहित मनोनयनमा परेका १० खेलाडीको गोललाई पछि पारेका हुन् ।
मेस्सीले यो अवार्ड जित्ने क्रममा सर्वाधिक मत प्राप्त गरेका थिए । युईएफएले आफ्नो वेबसाइटमा आएको मतको आधारमा यस अवरद दिने गर्छ ।
