एजेन्सी । इन्ग्लिश प्रिमियर लिगको ग्रीष्मकालीन खेलाडी किनबेच (ट्रान्सफर विन्डो) बिहिबार रातिबाट बन्द भएको छ ।
ट्रान्सफर विन्डोको अन्तिम दिन युरोपियन क्लब तथा इन्ग्लिश क्लब खेलाडी अनुबन्ध गर्न व्यस्त रहे । तर, यस सिजनको ट्रान्सफर विन्डोको अन्तिम दिन अघिल्ला सिजनको तुलनामा निकै कम खेलाडी किनबेच भएका छन् ।
प्रिमियर लिगको ट्रान्सफर विन्डो सकिदा युरोपियन क्लबले खेलाडी किनबेचमा १.४१ बिलियन पाउण्ड खर्च गरेका छन् । अघिल्लो वर्षभन्दा यस सिजन कम खर्च भएको हो ।

यस्तै अन्तिम दिन प्रिमियर लिग क्लबले खेलाडी किनबेचमा १७० मिलियन पाउण्ड खर्च गरेका छन् । प्रिमियर लिगका शीर्ष क्लबले गरेको यो खर्च सन् २००९ पछिकै सर्वाधिक कम हो ।
ट्रान्सफर विन्डोको अन्तिम दिन इटालियन क्लब इन्टर मिलानले सर्वाधिक मूल्य ७४ मिलियन पाउण्डमा म्यानचेस्टर युनाईटेडबाट रोमेरो लुकाकुलाई अनुबन्ध गरेको छ ।

यस्तै इन्ग्लिश क्लबमा एभर्टनले आर्सनलका फरवार्ड एलेक्स इओबी अनुबन्धका लागि ३४ मिलियन पाउण्ड खर्च गरेको छ ।
यस सिजन आर्सनलले खेलाडी किनबेचमा सर्वाधिक धेरै खर्च गरे । आर्सनलले १५५ मिलियन पाउण्ड खर्च गरेको छ । आर्सनलले अन्तिम दिन दुई डिफेन्डर डेभिड लुइज र केइरन टियरनेलाई अनुबन्ध गर्यो ।
