एजेन्सी । प्रि-सिजन अघिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ ।
अमेरिकाको मियामी बिहिबार बिहान भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
बार्सिलोनाको जितमा सर्जियो बुस्केट र इभान राकिटिकले एक एक गोल गरे । नापोलीले आत्मघाती गोलबाट एक गोल फर्काएको थियो ।

हार्ड रक स्टेडियममा कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाले ३९ औं मिनेटमा बुस्केटको गोलबाट अग्रता बनाएको थियो । कप्तान मेस्सी पिडुलाको चोटका कारण अमेरिका भ्रमणमा रहेका छैनन् ।
खेलको ४२ औं मिनेटमा बार्सिलोनाका स्यामुएल उम्टिटीले आत्मघाती गोल गरेपछि नापोली खेलमा फर्कियो । तर, खेलको ७९ औं मिनेटमा राकिटिकले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

युरोपियन क्लब फुटबलको नयाँ सिजनको सुरुवातअघि टिमको तयारी गर्न बार्सिलोना र नापोलीले मैत्रीपूर्ण खेल खेलेको हो ।