एजेन्सी । इटालियन क्लब नापोलीका मुख्य प्रशिक्षक कार्लाे एन्सेलोटीले यस सिजन च्याम्पियन्स लिगको उपाधिमा मुख्य दाबेदार बार्सिलोना रहेको बताएका छन् ।
अमेरिकाको फ्लोरिडामा बार्सिलोनासँगको मैत्रीपूर्ण खेलअघि बोल्दै प्रशिक्षक एन्सेलोटीले लामो समयबाट उपाधि जित्न नसकेको बार्सिलोनाले यस सिजन उपाधि जित्ने बताए ।
‘म विश्वास गर्छु च्याम्पियन्स लिग विजेताको मुख्य दाबेदार बार्सिलोना हो,' प्रशिक्षक एन्सेलोटीले भने, ‘यहाँ मेस्सी जस्ता अरु धेरै खेलाडीहरु छन् । मलाई लाग्छ उनीहरु च्याम्पियन्स लिग जित्नका लागि प्रतिस्पर्धा गर्छन् ।’
बार्सिलोनाले यस सिजन उत्कृष्ट खेलाडीहरु अनुबन्ध गरेको कारण च्याम्पियन्स लिग जित्न सक्षम रहेको प्रशिक्षक एन्सेलोटीको भनाई छ । बार्सिलोनाले सन् २०१५ पछि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।
'मेरो विचारमा खेलाडी सम्झौतामा उनीहरुले धेरै राम्रो गरे । यो वर्ष निकै प्रतिस्पर्धा हुनेछ,' प्रशिक्षक एन्सेलोटीले थपे।
बार्सिलोनाले यस सिजन मुख्या खेलाडीको रुपमा एन्टोनी ग्रिजम्यान र फ्रेन्कि डी जोङलाई अनुबन्ध गरेको छ ।