एजेन्सी । इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनी इन्ग्लिश क्लब फर्कने सम्भावना बढेको छ ।
अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडका स्ट्राइकरलाई इंग्ल्याण्ड फर्काउन च्याम्पियनसिप क्लब डर्बी काउन्टीले तयारी थालेको छ ।
डर्बीले रुनीलाई खेलाडी र प्रशिक्षकको भूमिकामा क्लबमा नियुक्त गर्न इच्छुक रहेको बताएको छ । रुनी र क्लबबीचको वार्ता समेत सकारात्मक बन्दै गईरहेको बीबीसीले जनाएको छ । तर, डर्बीको प्रस्तावबारे रुनीले केहि बोलेका छैनन् ।
डर्बी आएमा रुनीले फ्रान्क लाम्पार्डको स्थान लिनेछन् । लाम्पार्ड चेल्सीको प्रशिक्षक नियुक्त भएपछि डर्बीले रुनी ल्याउने तयारी गरेको हो ।
रुनीले भने आफु तत्कालै व्यवस्थापकको भूमिकामा नदेखिने बताउँदै आएका छन् । उनले आफु अझै केहि वर्ष खेलाडीको रुपमा रहने बताउँदै आएका थिए ।
म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान समेत रहेका रुनी एभर्टनबाट गत वर्ष डीसीमा अनुबन्धित भएका थिए ।