एजेन्सी । इन्ग्लिश डिफेन्डर ह्यारी मगायरले म्यानचेस्टर युनाईटेडमा अनुबन्ध हुनु आफ्नो लागि अविश्वसनीय अवसर भएको बताएका छन् ।
युनाईटेडसँग सोमबार ६ वर्षे अनुबन्ध सम्झौता गरेपछि बोल्दै मगायरले क्लबमा आबद्द हुनु आफ्नो लागि उत्कृष्ट अवसर भएको बताए ।
'जब म्यानचेस्टर युनाईटेड तपाईको ढोका ढकढकाउछ । यो एक अविश्वसनीय अवसर हो,' मगायरले भने ।
सेन्टर ब्याक मगायरलाई युनाईटेडले ८० मिलियन पाउण्डमा लेष्टर सिटीबाट अनुबन्ध गरेको हो ।
युनाईटेडसँग औपचारिक सम्झौता भएसँगै मगायर विश्वका सर्वाधिक महँगा डिफेन्डर बनेका थिए । उनले लिभरपुलका भिर्गिल भान डायकलाई पछि पारे । लिभरपुलले डायकलाई अनुबन्ध गर्न ७५ मिलियन तिरेको थियो ।
यस्तै २६ वर्षे मगायरले मुख्य प्रशिक्षक ओले गुनर सोल्सायारको योजनाबाट आफु प्रभावित भएको बताए ।
'प्रशिक्षकसँगको कुराकानी पछि उहाँको योजना र दृष्टिबाट म निकै उत्साहित छु,' मगायरले भने, 'यहाँ स्पष्ट छ कि ओले उपाधि जित्न टिम बनाउदै छन् । म नयाँ टिमका साथीहरुसँग भेट्न र नयाँ सिजनको सुरुवात गर्न आतुर छु ।'
मगायरले लेष्टरबाट ७६ खेलमा ५ गोल गरेका थिए ।