एजेन्सी । एफए कम्युनिटी शिल्ड फुटबलको उपाधि भिडन्त आज (आइतबार) हुँदैछ । फाइनलमा भिड्दै छन् - म्यान्चेस्टर सिटि र लिभरपुल ।
इंग्ल्याण्डको राष्ट्रिय रंगशाला वेम्बलीमा सिटी र लिभरपुलबीचको उपाधि भिडन्त नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ । र, दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
साविकको विजेता समेत रहेको सिटी लगातार दोस्रो सिजन उपाधि जित्ने योजनामा हुनेछ । यस्तै सिटी लगातार दोस्रो सिजन प्रिमियर लिग र कम्युनिटी शिल्ड जित्न चाहन्छ ।
सिटीले हालसम्म पाँच पटक कम्युनिटी शिल्ड जितेको छ । यस पटक लिभरपुललाई हराएर छैटौं पटक उपाधि जित्न चाहन्छ ।
यता, लिभरपुल भने कम्युनिटी शिल्डमा सफल टिम मानिन्छ । तर, लिभरपुलले सन् २००६ देखि उपाधि जित्न सकेको छैन ।
च्याम्पियन्स लिग विजेता सिटीले १५ पटक उपाधि जितिसकेको छ । लिभरपुल १६ औं उपाधि जित्ने योजनामा हुनेछ । तर, सिटीविरुद्ध लिभरपुलले मुख्य खेलाडी साडियो मानेको अभाव खेप्नेछ ।
सेनेगलका माने हाल छुट्टिमा रहेका छन् । उनी प्रिमियर लिगबाट मात्र टिममा सामेल हुनेछन् ।
इन्ग्लिश प्रिमियर लिगको नयाँ सिजनको सुरुवात अघि कम्युनिटी शिल्ड हुने गर्छ । जसमा लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन ।