काठमाडौं । पोखरामा सम्पन्न १७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक भएको छ ।
आयोजक सहारा क्लब पोखराले शनिबार गत फागुनमा सम्पन्न प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको हो ।
आयोजकले सार्वजनिक गरेको आम्दामी र खर्च विवरण अनुसार १७ औं संस्करणमा आयोजकले निकै कम नाफा कमाएको छ । अघिल्लो बर्ष भन्दा यसपटक करिब ९४ प्रतिशतले कम बचत भएको आयोजकले जनाएको छ ।
यस संस्करणमा १ लाख ४९ हजार ३ सय २६ रुपैँया नाफा कमाएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा भने आयोजकले २३ लाख ७६ हजार नाफा कमाएको थियो । नाफा रकम सहारा क्लबले संचालन गरेको सहारा एकेडमीको खर्चमा प्रयोग गरिनेछ ।
सहारा क्लबले यस पटक ७० लाख ७८ हजार ७ सय ८६ रुपैँया ९० पैसा अम्दामी भएको जनाएको छ । यस्तै ६९ लाख २९ हजार ४ सय ६० रुपैँया २५ पैसा खर्च भएको जनाएको छ ।
फागुन ५ देखि १८ सम्म भएको प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको थियो । फाइनलमा विभागीय टिम आर्मी क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको थियो ।
