काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान निरु थापाले देशलाई स्वर्ण पदक दिलाएर मात्रै संन्यास लिने बताएकी छिन् ।
नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेकी निरुले खेलपाटीसँग कुरा गर्दै नेपाललाई स्वर्ण दिलाएर मात्र सन्यास लिने बताएकी हुन् ।
‘सन्यासको बारेमा अहिले नै सोचिसकेको छैन । तर, यो सागमा देशलाई स्वर्ण पदक जिताउँदै विदाई सोचेको छु ।’ सागको तयारीमा रहेकी निरुले भनिन् ।
सागका लागि एन्फाले आइतबारबाट प्रारम्भिक प्रशिक्षण सुरु गरेको छ । मुख्य प्रशिक्षक हरि खड्काले प्रारम्भिक चरणमा ४२ खेलाडीलाई प्रशिक्षणलाई बोलाएको छ ।

सन् २०१० बाट दक्षिण एसियाली खेलकुद (साग) मा महिला फुटबल समावेश भएको थियो । सन् २०१० र २०१६ मा भएको दुवै संस्करणमा नेपालले सहभागिता जनाएको थियो । दुवै पटक नेपाली टिम भारतसँग फाइनलमा पराजित भएको थियो ।
दुवै संस्करणको सागमा निरुले नेपालबाट खेलेकी छिन् । तर, घरेलु मैदानमा हुने सागमा देशलाई स्वर्ण दिलाउने निरुको योजना छ ।
‘सोचे अनुसार यो मेरो अन्तिम साग हो । तर,देशलाई स्वर्ण नजिताई सन्यासको बारेमा सोचेको छैन । स्वर्णको लागि कोशिष गर्छु,’ निरुले भनिन्, ‘हामीले अहिलेसम्म स्वर्ण जितेका छैनौं । यस पटक स्वर्ण पदकका लागि खेल्छौं ।’
नेपालगंजकी निरुले सन् २०१०मा नेपाली राष्ट्रिय टिममा डेब्यु गरेकी थिईन् । विभागीय नेपाल पुलिस क्लबकी स्ट्राइकर समेत रहेकी निरु त्यस यता राष्ट्रिय टिमबाट निरन्तर खेल्दै आईरहेकी छिन् ।
राष्ट्रिय टिममा उनको १० गोल गरेकी छिन् । सन् २०२० को टोकियो ओलम्पिकको लागि म्यानमारमा भएको पहिलो चरणको छनोटबाट निरुले नेपाली टोलीको कप्तानी सम्हालेकी हुन् ।
त्यसपछि निरुले ओलम्पिकको दोस्रो चरणको छनोट, भारतमा आयोजना भएको हिरो महिला गोल्डकप र नेपालमा सम्पन्न महिला साफमा नेपाली टिमको कप्तानी सम्हालेकी छिन् ।

नियमित कप्तान अनु लामा चोटका कारण टिमबाहिर रहेपछि निरुले नेपाली टिमको कप्तानी पाएकी हुन् । साफ टिममा नपरेपछि अनुले राष्ट्रिय टिमबाट सन्यास लिएकी थिईन् ।
अनुको सन्यासपछि नेपाली टिममा अनुभवी र पुरानो खेलाडीमा निरु नै हुन् । तर, खेलाडी पुराना र बुढा भयो भन्दैमा सन्यास लिई हाल्न नपर्ने निरुको भनाई छ ।
‘खेलाडी बुढा भयो भनेर सन्यास लिईहाल्नु पर्छ जस्तो लाग्दैन । उमेर बढ्दै गएपनि खेल्न सकिन्छ भने खेलिन्छ,’ निरुले थपिन्, ‘म सँग पनि अझै क्षमता छ, अझै देशको लागि खेल्छु ।’