काठमाडौं । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटमा नेपालले पहिलो खेल कुवेतसँग खेल्ने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको पहिलो प्रतिद्वन्दी कुवेत परेको हो ।
समूह 'बी' मा रहेको नेपालले ५ सेप्टेम्बरमा कुवेतसँग घरेलु मैदानमा खेल्नेछ । नेपालले कुवेतसँग नोभेम्बर १९ मा अवे खेल खेल्नेछ ।
नेपालको समूहमा कुवेतसँगै एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपे रहेका छन् ।
नेपालले अष्ट्रेलियासँग अक्टोबर १० अवे खेल खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।
यस्तै नेपालले जोर्डनसँग अक्टोबर १५ मा घरेलु मैदान र सन् २०२० को जुन ४ गते उसैको मैदानमा खेल्नेछ ।
त्यस्तै नेपालले चाईनिज ताइपेसँग सेप्टेम्बर १० मा घरेलु मैदान र सन् २०२० को मार्च २६ मा उसैको मैदानमा खेल्नेछ ।
दोस्रो चरणको छनोटमा ४० टोलीले होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गर्ने छन् । जसलाई ८ समूहमा विभाजन गरिएको छ ।
दोस्रो चरणको छनोटबाट ८ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टोलीले एसियाको अन्तिम छनोटमा स्थान बनाउने छन् । यस्तै उक्त १२ टोली सन् २०२३ को एसियन कपमा छनोट हुनेछन् । अन्य टोलीले छनोट खेल्नेछन् ।