एजेन्सी । अर्जेन्टिनाको खेलकुद अदालत कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्सका सदस्य गुस्टाभो अब्रेउले कोपा अमेरिका दौरान दिएको विवादास्पद अभिव्यक्तिबारे लियोनल मेस्सीले माफी माग्नु पर्ने बताएका छन् ।
ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत तेस्रो स्थानको खेलपछि अर्जेन्टिनाका कप्तान मेस्सीले कोपाको उपाधि ब्राजिललाई जिताउन भ्रस्टाचार भएको बताएका थिए । यस्तै उनले रेफ्रीहरु ब्राजिललाई जिताउन लागि परेको र कोपा अमेरिकामा भ्रस्टाचार भएको बताएका थिए ।
मेस्सीको उक्त भनाईप्रति कोपा अमेरिकाले छानबिन गर्ने समेत जनाईसकेको छ । यस्तै मेस्सीलाई प्रतिबन्ध लगाउने तयारी समेत गरेको छ ।
कोपा अमेरिकाले मेस्सीलाई कारबाही गर्ने तयारी गरिरहेको बेला कोर्ट अफ आर्बिटेसनका गुस्टाभोले लामो समयको प्रतिबन्धबाट बच्न मेस्सीले माफी माग्नु पर्ने बताएका छन् ।
'म मेस्सीलाई माफी माग्न सुझाब दिन चाहन्छु । किनभने उनीहरु मेस्सीलाई प्रतिबन्ध लगाउने तयारीमा छन्,' गुस्टाभोले एक रेडियोसँग भने, मेस्सीले माफी मागेमा उनलाई प्रतिबन्ध नलगाउन सक्छ ।'
चिलीविरुद्ध २–१ गोल अन्तरले जित निकालेपछि मेस्सीले दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएको थियो । यस्तै मेस्सीले तेस्रो स्थानको पदक लिन समेत अस्वीकार गरेका थिए ।