काठमाडौं । सैनिक युथ क्लब झापाले प्रथम मुख्य मन्त्रि कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
धरानमा मंगलबार भएको फाइनलमा बेलबारी एफसी मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै सैनिकले उपाधि जितेको हो ।
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सैनिकलाई जित दिलाउन रिजन माझी र विकेश सुब्बाले एक एक गोल गरे । बेलबारीका सौलभ कार्कीले एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो मिनेटमै सैनिक युथले रिजको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा १-० गोलले पछि परेको बेलबारी दोस्रो हाफमा खेलमा फर्कियो ।
खेलको ५१ औं मिनेटमा सौलभले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । तर, खेलको अन्तिम ३ मिनेट बाकी रहँदा विकेशले गोल गर्दै सैनिकलाई उपाधि दिलाए ।
उपाधिसँगै सैनिकले ५ लाख नगद प्राप्त गरेको छ । यस्तै उपविजेता बेलबारीले ३ लाखमा चित्त बुझायो ।
प्रतियोगितामा प्रदेश नम्बर १ मा रहेको १४ जिल्लाका १४ टिमको सहभागीता रहेका थिए । १४ टिमबाट ६ टिम फाइनल चरणमा प्रवेश गरेका थिए ।