काठमाडौं । संकटा क्लबले राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा च्यासल युथ क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित हात पारेको हो ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा संकटालाई जित दिलाउन विशाल शाही, अबिम शाही र राकेश गुरुङले एक एक गोल गरे । च्यासलका धिरज मगरले एक गोल फर्काए ।
जितसँगै समूह 'ए' को संकटाले ३ खेलबाट ४ अंक जोडेको छ । यसअघि पहिलो खेलमा संकटाले मछिन्द्र क्लबसँग ४-० को हार व्यहोर्दा एनआरटीसँग १-१ गोलको बराबरी खेलेको थियो ।
च्यासलको यो दोस्रो हार हो । च्यासलले ३ खेलबाट १ अंक जोडेको छ ।
यस समूहमा मछिन्द्रको २ खेलबाट ३ अंक रहेको छ । यस्तै एनआरटी र हिमालयन शेर्पाको २ खेलबाट ४ अंक रहेको छ । यस समूहबाट तीन टिम क्वाटरफाइनलमा पुग्ने छन् ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि टिमलाई तीन समूहमा विभाजन गरिएको छ । समूह चरणका विजेता र उपविजेता सहित उत्कृष्ट २ टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।