काठमाडौं । भुटानका मुख्य प्रशिक्षक पेमा पेमाले योजना अनुसार खेल्दा प्रधानमन्त्री थ्री नेसन्स कपमा नेपालविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सफल भएको बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नेपालसँग १-१ गोलको बराबरी खेलेपछि बोल्दै प्रशिक्षक पेमाले योजना अनुसार खेल्दा सफल भएको बताए । तर, अन्तिम समयमा गोल व्यहोर्दा भने दुख लागेको उनले बताए ।
'हामीलाई सपोर्ट गर्नुभएको नेपालका सम्पूर्णलाई धन्यवाद,' खेलपछि उनले भने, 'प्लान अनुसार नै खेलेको हो । अन्तिममा गोल खान पुग्यौं । जितेको खेल अन्तिममा गोल खान पर्दा दुख लागेको छ ।'
खेलको इन्जुरी समयको पहिलो मिनेटमा दीपक सिंह ठकुरीले गोल गरेपछि भुटानसँग १-१ गोलको बराबरी खेल्दै नेपाल हारबाट जोगिएको हो ।
त्यसअघि खेलको १९ औं मिनेटमा तेन्जिन नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए ।
नेपालले दक्षिण एसियाली प्रतिद्वन्दी भुटानसँग पहिलो पटक बराबरी खेलेको हो।
यस अघिको १२ भेटमा नेपालले १२ खेलमै जित निकालेको थियो ।
नेपाललाई बराबरी रोक्न पाउँदा खुशी लागेको पनि पेमाले बताए ।
'इतिहासमा हामीले नेपालसँग पहिलो पटक बराबरी खेलेको हो । नेपालसँग बराबरी खेल्न पाउँदा खुसी लागेको छ,' उनले थपे ।