धनगढी । क्यामरुनको एभिनर फुटबल क्लब धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी रंगशालामा शुक्रबार ‘ए’ डिभिजन क्लब एफसी खुमलटारलाई ३–१ गोल अन्तरले हराउँदै विदेशी टोलीले अन्तिम चारको यात्रा तय गरेको हो ।
विदेशी टोली एभिनरले खेलको आठौं मिनेटमा कोन्फोरको गोलमा अग्रता लिएको थियो ।
खेलको ३६ औं मिनेटमा अनुज भण्डारीले गोल गर्दै खुमलटारलाई बराबरीमा ल्याएका थिए ।
एभिनरका मोसिसले लगातार दुई गोल गर्दै विदेशी टोलीलाई अन्तिम चारको यात्रा तय गराए । उनले खेलको ६६ औं र ७२ औं मिनेटमा गोल गरेका थिए ।
एभिनरले अब सेमिफाइनलमा बागमती युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत शनिबार नेपाल पुलिस क्लब र भारतीय क्लब जर्जियनबीच प्रतिस्पर्धा हुनेछ ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।
आयोजकसहित ‘ए’ डिभिजन ६, विदेशी टोली २ र मोफसलको एक गरी १० टोलीको सहभागिता रहेको छ ।