प्रभावशाली लयमा फर्किएको बायर्न
-1776674878523.webp&w=3840&q=75)
काठमाडौं। बायर्न म्युनिखले आइतबार अर्को बुन्डेसलिगा उपाधि जित्दै पछिल्ला १४ वर्षमध्ये १३औं पटक च्याम्पियन बनेको छ। यो क्लबका लागि कीर्तिमानी सिजन रह्यो। तर, बायर्नले अझै ठूलो उपलब्धि हासिल गर्ने सम्भावना बाँकी छ।
बुन्डेसलिगा जित्नु बायर्नका लागि न्यूनतम लक्ष्य मानिन्छ। यो उनीहरूको ३५औं जर्मन लिग उपाधि हो। सन् १९३२ मा पहिलो पटक बायर्नले क्षेत्रीय विजेताहरूबीच नकआउट प्रणालीबाट उपाधि जितेको थियो। बाँकी सबै उपाधि १९६३ मा बुन्डेसलिगा सुरु भएपछि बायर्नले जितेको हो।
अब बायर्न तीन वटा ठूला उपाधि (ट्रेबल) जित्ने लक्ष्यमा छ। जर्मन कपको सेमिफाइनलमा बुधबार बायर लेभरकुजेनसँग खेल्नेछ भने च्याम्पियन्स लिग सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँग भिड्नेछ।
सन् २०२४ मा लेभरकुh]नले जितेको उपाधि अपवाद साबित भएको छ। उसले बायर्नलाई फेरि लगातार उपाधि जित्न प्रेरित गरेको छ। सम्भवतः यो नयाँ प्रभुत्वको सुरुआत हुन पनि सक्छ। २०१२ मा घरेलु मैदानमा चेल्सीसँग च्याम्पियन्स लिग फाइनल हारेपछि र बुन्डेसलिगा तथा जर्मन कप दुबै बोरुसिया डर्टमुण्डसँग गुमाएपछि बायर्नले अर्को वर्ष युप हाइनकेसको नेतृत्वमा तीनै उपाधि जित्दै ऐतिहासिक पुनरागमन गरेको थियो।
गोल वर्षा
यस सिजन बायर्नले गोलको नयाँ कीर्तिमान बनाएको छ। सेन्ट पाउलीविरुद्ध पाँच गोल गर्दै टोलीले कुल १०५ गोल पुर्यायो। योसँगै टोलीले १९७१–७२ को फ्रान्ज बेकेनबाउर र गर्ड म्युलर रहेको टोलीले बनाएको १०१ गोलको कीर्तिमान भंग गरेको छ।
स्टुटगार्टविरुद्ध ४–२ को जितमा इंग्ल्यान्डका फरवार्ड ह्यारी केनले गोल गर्दै टोलीको कुल गोल संख्या १०९ पुर्याए। तर, बायर्नले अझै चार खेल बाँकी छ। केनले रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलमा आफ्नो सिजनको ५०औं गोल गरेका थिए। अहिलेसम्म उनको गोल संख्या ५१ पुगिसकेको छ। उनले बुन्डेसलिगाका २७ खेलमा ३२ गोल गरिसकेका छन्।
नयाँ खेलाडी लुइस डियाजले १५ र माइकल ओलिसेले १२ गोल गरेका छन्। लियोन गोरेट्ज्काले १०२औं गोल गर्दै नयाँ कीर्तिमान बनाएका थिए।
प्रतिस्पर्धा कमजोर
यस सिजन बायर्नलाई चुनौती दिन सक्ने कुनै बलियो टोली देखिएन। बोरुसिया डर्टमुण्ड केही नजिक पुगे पनि प्रतिस्पर्धा कायम राख्न सकेन। फेब्रुअरी अन्त्यमा डर्टमुण्डलाई ३–२ ले हराउँदै बायर्नले उपाधि लगभग सुनिश्चित गर्यो।
‘हामीसँग ११ अंकको अग्रता छ, हामी यो गुमाउने छैनौं,’ जोशुआ किमिखले भनेका थिए। डर्टमुण्डले लगातार दुई खेल हार्दा बायर्नलाई उपाधि जित्न झन् सजिलो भयो। स्टुटगार्ट, लाइपजिग वा लेभरकुजेन पनि डर्टमुण्डको बराबरीमा आउन सकेनन्।
कोम्पानीको प्रभाव
पहिलो रोजाइ नभए पनि प्रशिक्षक भिन्सेन्ट कोम्पानीले बायर्नमा उत्कृष्ट काम गरेका छन्। थोमस टुचेलको समयमा अस्थिर रहेको टोलीलाई उनले सम्हाल्दै राम्रो प्रदर्शन गराएका छन्। उनले युवा खेलाडीहरूलाई मौका दिएका छन्। त्यसमध्ये लेनार्ट कार्ल भविष्यका स्टार खेलाडीको भन्दा कम देखिएको छैन। साथै, टोली व्यवस्थापन राम्रो गर्दै खेलाडीहरूलाई फिट र सन्तुष्ट राखेका छन्।
कोम्पानीले ह्यारी केनलाई अत्यधिक खेलाएर जोखिम लिनुभन्दा महत्त्वपूर्ण खेलमा आराम दिने रणनीति अपनाएका छन्। यसले टोलीलाई च्याम्पियन्स लिग र जर्मन कपमा पनि मजबुत बनाएको छ।
उनले जातीय विभेदविरुद्ध बोलेका छन् र महिला प्रशिक्षक मेरी–लुइज एटाको नियुक्तिलाई स्वागत गरेका छन्। कोम्पानीको नेतृत्वमा बायर्न फेरि सन्तुलित र एकजुट देखिएको छ, जुन पहिले एफसी हलिउड भनेर चर्चित थियो।





-1776324756993.png&w=3840&q=75)







