नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पूर्व स्पाइकर प्रतिभा माली नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप खेल्न स्वदेश फर्किने भएकी छन्।
पछिल्लो समय उनी हङकङमा छिन्। तर, यसपल्ट भने घरेलु प्रतियोगिता खेल्न नेपाल फर्किन लागेको न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबकी सहायक प्रशिक्षक ललिता नाथले जानकारी दिएकी हुन्।
‘उहाँ आउने पक्का भइसकेको छ,’ ललिताले खेलपाटीसँग भनिनन्। प्रतिभा न्यू डायमन्डकै उत्पादन हुन्। तर, चोटका कारण उनले पछिल्लो समय नेपालको घरेलु प्रतियोगितामा निरन्तरता दिन सकेकी छैनन्।
यसपल्ट क्लबले प्रधानमन्त्री कप एनभीए लिगको छनोट रहेको एनभीए च्याम्पियनसिप खेल्दैछ। सोही च्याम्पियनसिपमा बलियो प्रदर्शन गर्दै टोलीलाई लिगसम्म पुर्याउन उनी स्वदेश फर्किन लागेकी हुन्।
‘हङकङमा एक प्रतियोगिता भइरहेको छ। उक्त प्रतियोगिता भ्याएर १२ पुससम्म उहाँ आइसक्नु हुन्छ,’ ललिताले भनिन्।
नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा च्याम्पियनसिप ११ पुसदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु हुँदैछ। च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोली सहभागी हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ।
च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा छनोट हुने संघले जनाएको छ ।
महिलातर्फ तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी क्लब सहभागी हुनेछन्। यीबाहेक न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, कर्णालीको चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद् सहभागी छन्।









-1766493993239.jpg&w=3840&q=75)
-1766479491057.jpeg&w=3840&q=75)


-1766460697450.webp&w=3840&q=75)