फ्रान्सको टोली सम्हाल्दै जिदान

काठमाडौं। फ्रान्स राष्ट्रिय फुटबल टोलीमा ठूलो परिवर्तनको संकेत देखिएको छ।
१४ वर्षको लामो सफल कार्यकालपछि डिडिएर डेसच्याम्प पदबाट हट्ने तयारीमा छन्। उनको स्थानमा फ्रान्सका पूर्वमहान् खेलाडी जिनेदिन जिदान आउने लगभग निश्चित भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्रान्स फुटबल महासंघ (एफएफएफ) र जिदानबीच मौखिक सहमति भइसकेको छ। सबै कुरा योजना अनुसार भएमा सन् २०२६ को विश्वकपपछि जिदानले औपचारिक रूपमा टोलीको जिम्मेवारी सम्हाल्नेछन्।
डेसच्याम्पको बहिर्गमन केही समयदेखि नै लगभग तय मानिएको थियो। उनले सन् २०१२ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि फ्रान्सलाई विश्व फुटबलको शिखरमा पुर्याएका थिए। उनको नेतृत्वमा फ्रान्सले सन् २०१८ मा विश्वकप जितेको थियो भने २०२२ मा पनि टोलीलाई फाइनलसम्म पुर्याएका थिए।
उता, सन् १९९८ को विश्वकप विजेता टोलीका मुख्य सदस्य रहेका जिदान लामो समयदेखि यस पदका लागि प्रतीक्षामा थिए। उनले सन् २०२१ मा रियल मड्रिडको प्रशिक्षक पद छोडेपछि कुनै नयाँ जिम्मेवारी लिएका छैनन्।
५३ वर्षका जिदानका लागि फ्रान्स टोलीको प्रशिक्षक बन्नु समयको मात्र प्रतीक्षा जस्तै बनेको थियो। देशको फुटबलसँग उनको गहिरो सम्बन्ध र रियलमा प्रशिक्षकको रूपमा हासिल गरेको उत्कृष्ट सफलताले उनलाई यस पदका लागि सबैभन्दा उपयुक्त व्यक्ति मानिएको छ।












-1774280237611.jpeg&w=3840&q=75)