पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

काठमाडौं। के म्यानचेस्टर युनाइटेड आफ्नो पुरानो लयमा फर्किएको हो? अहिले नै यसो भन्नु अतिरञ्जना हुनेछ।
तर, युनाइटेडले जे गरिरहेको छ त्यसैले अब पुरानो लयमा फर्किन खोज्दैछ भन्ने सन्देश चाहिँ दिएको छ। यो टोलीले पछिल्लो समय आफ्ना समर्थकहरूलाई फेरि आशावादी बनाएको छ।
सिजनको सुरुआतदेखि नै हारसँग संघर्ष गरिरहेको रेड डेभिल्सले लगातार तीन खेल जित्नु पक्कै पनि असामान्य होइन। टोलीको प्रदर्शन प्रशिक्षक रुबेन अमोरिमका लागि राहत हो, जो केही दिन अघि आफ्नो जागिर गुमाउने खतरामा थिए।
शनिबार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेलमा युनाइटेडले ब्राइटनलाई ४–२ ले पराजित गर्दै लगातार तेस्रो जित हात पार्यो। खेलमा युनाइटेडका लागि ब्रायन एमब्यूमोले दुई गोल गरे भने माथियस कुन्हा र कासेमिरोले एक–एक गोल गरे।
ब्राइटनका लागि ड्यानी वेलबेक र १८ वर्षे ग्रिक स्ट्राइकर चारालाम्पोस कोस्तोउलासले गोल गरे। गत सिजनमा यही ब्राइटनविरुद्ध दुईवटै खेलमा हारेको युनाइटेडका लागि यो जित विशेष छ।
९ खेलपछि १६ अंकसहित युनाइटेड लिग तालिकाको चौथो स्थानमा पुगेको छ। त्यस्तै, ब्राइटन १२ अंकसहित १३औं स्थानमा छ। पहिलो हाफमा युनाइटेडले बल पोजेसनमा पछि रहे पनि आक्रमणमा उत्कृष्ट प्रदर्शन गर्यो।
खेलको २४औं मिनेटमा कासेमिरोको पासमा माथियस कुन्हाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। यो उनको युनाइटेड करिअरको पहिलो गोल हो। त्यसपछि १० मिनेटमै कासेमिरोको बाहिरबाट हानेको बल डिफेन्डरको शरीरमा लागेर दिशान्तर भई जालमा पुग्दा युनाइटेड २–० ले अघि बढ्यो।
६१औं मिनेटमा बिन्यामिन सिस्कोको पास समात्दै ब्रायन एमब्यूमोले नजिकको पोस्टतिर सट हानेर गोल गरे। यो उनको लगातार दोस्रो खेलमा गोल हो। त्यसपछि ७४औं मिनेटमा ब्राइटनका ड्यानी वेलबेकले करिब २२ यार्ड टाढाबाट शक्तिशाली प्रहारमा गोल फर्काए।
इन्जुरी समयमा ब्राइटनले थप दबाब बढायो र दोस्रो मिनेटमा जेम्स मिल्नरको कार्नरमा १८ वर्षे कोस्तोउलासले हेड गर्दै गोल गरे। खेल ३–२ हुँदा बराबरीको सम्भावना बलियो भएको थियो। तर, चार मिनेटपछि नै एम्ब्यूमोले एडेन् हेभेनको उत्कृष्ट थ्रु–बलमा व्यक्तिगत दोस्रो र टिमका लागि चौथो गोल गरे।
यस जितसँगै युनाइटेडले लगातार तेस्रो जित निकालेको छ। गत हप्ताको लिभरपुलमाथिको जितपछि प्रशिक्षक आमोरिमका लागि ठूलो राहतको नतिजा बनेको छ। टिम अहिले पुनः आफ्नो पुरानो लयमा फर्कने संकेत दिँदै प्रिमियर लिग शीर्ष चारमा स्थिर भएको छ।







-1761446241647.webp&w=3840&q=75)


-1761410041277.webp&w=3840&q=75)

