काठमाडौं । टेनिसकी युवा खेलाडी शिभाली गुरुङ्गले युरोप टूरमा शानदार प्रर्दशन गरेकी छिन् ।
ग्रान्ड स्ल्याम प्लेयर डेभलोपमेन्ट प्रोग्राम आईटीएफ/एटीएफ अन्तर्गत टेनिस टू युरोप कार्यक्रम अन्तर्गत युरोपका विभिन्न देश पुगेकी शिवालीले उत्कृष्ट प्रर्दशन गरेकी हुन् ।
शिवालीले युरोप र त्यसपछि मलेसियामा भएको प्रतियोगिताबाट यू–१४ को डबल्स इभेन्टमा दुई स्वर्ण, डबल्स इभेन्टमै दुई रजत र सिंगल इभेन्टमा एक कास्य पदक हात पारिन् ।
फ्रान्समा भएको ओपन स्टेट फ्राकाइसमा शिवालीले डबल्स इभेन्टमा स्वर्ण पदक हात पारेकी थिईन् । त्यसपछि जर्मनीमा भएको इन्टरनेश्नल डुउत्से टेनिस मिस्टरचाफ्टेनको डबल्स इभेन्टमा फाइनल खेलेकी शिवाली बेल्जियमको यङ च्याम्पियनसिपको सोही स्पर्धामा फाइनल खेलिन् । बेल्जियममा शिवालीले सिंगल्स ईभेन्टमा कास्य पदक समेत जित्न सफल भईन् ।
युरोप टूरपछि मलेसियामा भएको एटीएफ यू–१४ साउथ इस्ट एसियाको डबल्समा शिवालीले स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्ट लयलाई कायम राखेकी छिन् ।

एसियामा चौथों वरियता प्राप्त गरेपछि शिभालीले युरोप टूरमा मौका पाएकी हुन् । उनी आईटीएफ/एटीएफको कार्यक्रममा युरोपमा खेल्ने पहिलो युवा खेलाडी हुन् । उनी सम्मिलित कार्यक्रममा एसियाबाट समान ६/६ पुरुष र महिला युवा खेलाडी छनोट भएका थिए ।
ग्रान्डस्लामलाई लक्ष्य बनाएर टेनिसमा होमिएकी शिभाली पछिल्लो समय अन्तराष्ट्रिय प्रतियोगितामा ब्यस्त छिन् । उनकै टेनिस करियरलाई हौसला थप्न भन्दै रिटेल बिजनेशको अग्रणी संस्था भाटभटेनी सुपर मार्केट समूहले प्रायोजन समेत गरेको छ । पछिल्लो समय भाटभटेनी समूहले शिभालीको खेल यात्रामा सहयोग पुर्याउने उद्धेश्यले २० लाख रुपैयाको प्रायोजन गरेको थियो ।
शिभालीको प्रर्दशनबाट उत्साहीत बनेका उनका बुवा सिमान्त गुरुङ्ग भन्छन्, ‘शिभालीलाई अन्तराष्ट्रिय प्रतियोगितामा व्यस्त राखेर टेनिसमा ऐतिहासिक नतिजा निकाल्ने सपना छ ।’