काठमाडौं। बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले फेरि कम्मरको शल्यक्रिया गर्न लागेका छन्।
योसँगै उनी करिब तीन महिनासम्म मैदानबाट टाढा रहने भएका छन्। बार्सिलोनाले बिहीबार टेर स्टेगनको ‘लोअर ब्याक प्रोब्लम’ समाधान गर्न अर्को साता शल्यक्रिया गरिने जानकारी दिएको हो।
‘आज मेरो लागि व्यक्तिगत रूपमा कठिन दिन हो,’ उनले भने, ‘शारीरिक रूपमा म राम्रो अवस्थामा छु। तर, दु:खाइबाट भने मुक्त छैन। बार्सिलोनाको मेडिकल टिम र बाह्य विशेषज्ञहरूसँग गहन छलफलपछि पूर्णरूपमा निको हुने सबैभन्दा सुरक्षित र छिटो उपाय शल्यक्रिया नै भएको निष्कर्षमा पुगेका छौं।’
३३ वर्षीय टेर स्टेगनले गत सिजन लगभग पूरै समय घुँडाको टेन्डन चुँडिएर गुमाएका थिए। सन् २०२३ मा पनि उनी कम्मरको शल्यक्रियाका कारण दुई महिनाजति मैदानबाहिर रहे।
‘यसपटक चिकित्सकहरूको सुझावमा करिब तीन महिनाको विश्राम आवश्यक छ, ताकि कुनै जोखिम नहोस्,’ उनले थपे, ‘भावनात्मक रूपमा टिमसँग रहन नसक्नु पीडादायक छ। तर, रिह्याबको प्रक्रिया व्यवस्थित छ र फर्कने बाटो स्पष्ट देखिएको छ।’
बार्सिलोनाले गत महिना एस्पान्योलका गोलकिपर जोआन गार्सियालाई टोलीमा भित्र्याएको थियो। अघिल्लो सिजन इनाकी पेना टिमका दोस्रो गोलकिपर थिए।