काठमाडौं। इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले फ्रान्सेली फरवार्ड हुगो एकिटिकेलाई जर्मन क्लब आइन्ट्राख्ट फ्राङ्कफुर्टबाट अनुबन्ध गरेको छ।
२३ वर्षीय एकिटिके करिब ६९ मिलियन पाउन्ड (९३.५ मिलियन डलर) को रकममा लिभरपुल आएका हुन्। सम्झौतामा थप १० मिलियन पाउन्ड (१३.५ मिलियन डलर) सम्म बोनसको प्रावधान पनि रहेको जनाइएको छ। उनले क्लबसँग ६ वर्षको सम्झौता गरेका छन्। सम्झौताको थप विवरण सार्वजनिक गरिएको छैन।
नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा लिभरपुल आक्रामक विभागमा थप मजबुत बनाउने अभियानमा लागेको देखिन्छ। यसअघि क्लबले जर्मन क्लब बायर लभरकुजेनबाट फ्लोरियन विटर्जलाई कीर्तिमानी ११६ मिलियन पाउन्डमा भित्र्याएको थियो।
यस्तै, जेरेमी फ्रिमपोन्ग र मिलोस केर्केज पनि नयाँ अनुबन्धमा आएका छन्। यी चार खेलाडीमा क्लबले हालसम्म करिब ३४२ मिलियन डलर खर्च गरिसकेको छ। एकिटिकेले फ्राङ्कफुर्टका लागि एक सिजनमा ४८ खेल खेलेर २२ गोल गरेका थिए। पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाडेर फ्राङ्कफुर्ट आएका उनले जर्मन बुन्डेसलिगामा आफूलाई प्रभावशाली रूपमा प्रस्तुत गरेका थिए।
क्लबले उनलाई अघिल्लो सिजन करिब १९ मिलियन डलरमा भित्र्याएको थियो। एकिटिकेको आगमन लिभरपुलका लागि विशेष महत्त्वको छ। केही हप्ता अघि फरवार्ड डिओगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको थियो। अर्कोतर्फ डार्विन नुनेज र लुइस डियाजजस्ता फरवार्ड पनि युरोपका अन्य क्लबहरूको नजरमा परेका छन्, जसले लिभरपुलको आक्रमण लाइनमा पुनःसंरचना आवश्यक बनाएको थियो।
सन् १९८२ देखि १९८४ सम्म लगातार तीन सिजन लिग जितेको लिभरपुलले प्रिमियर लिगको उपाधि रक्षा गर्न सकेको छैन। यसपटक भने म्यानचेस्टर सिटी, आर्सनल र चेल्सीजस्ता प्रतिस्पर्धीहरूलाई चुनौती दिने तयारी गरेको छ।
एकिटिके फ्राङ्कफुर्ट छाड्ने पछिल्लो महँगो खेलाडी बनेका छन्। यसअघि फरवार्ड ओमार मर्मुश जनवरीमा सिटी गएका थिए। मर्मुश फ्राङ्कफुर्टको सर्वाधिक गोलकर्ता थिए भने उनको अनुपस्थितिमा एकिटिकेले उत्कृष्ट प्रदर्शन गर्दै क्लबलाई बुन्डेसलिगामा तेस्रो स्थान दिलाएर च्याम्पियन्स लिग छनोट गराउन मद्दत गरेका थिए।