काठमाडौं। आगामी सेप्टेम्बरमा आयोजना हुने एएफसी यु-२३ एसियन कप छनोटको तयारीस्वरूप बंगलादेशको यु-२३ राष्ट्रिय टोलीले बहराइनविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
दुवै खेल अगस्ट १८ र २३ मा बहराइनमै हुने तय भएको छ। बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ) को राष्ट्रिय टोलीसम्बन्धी समिति अध्यक्ष ताबिथ अवालको अध्यक्षतामा बुधबार बसेको बैठकले मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो।
सोही बैठकले छनोटअन्तर्गत समूह ‘सी’ का खेलहरू हुनुभन्दा पाँच दिनअघि नै बंगलादेश यु-२३ टोलीलाई आयोजक राष्ट्र भियतनाम पठाउने निर्णय पनि गरेको छ। उक्त समूहमा बंगलादेशसँगै सिङ्गापुर र यमन छन्।
एएफसी यु–२३ प्रतियोगितामा सन् २०१२ देखि सहभागिता जनाउन थालेपनि बंगलादेशले समूह चरण पार गर्न असफल भएको छ। अहिलेसम्म टोलीले १८ खेलमाएक जित (श्रीलङ्काविरुद्ध) र एक बराबरी (भारतविरुद्ध) मात्र हासिल गर्न सकेको छ।
यसपटक ११ समूह विजेता र ४ उत्कृष्ट उपविजेता टोलीले आयोजक साउदी अरेबियामा जनवरी ७ देखि २५ सम्म हुने प्रतियोगितामा स्थान बनाउने छ।