काठमाडौं। विश्वकप विजेता स्पेनले अहिलेसम्म महिला युरोपियन च्याम्पियनसिप (युरो) को फाइनल खेल्न सकेको छैन। उसले अहिलेसम्म जर्मनीलाई पनि हराउन सकेको छैन। तर, दुवै तथ्य बुधबार बदलिन सक्ने मौका छ।
युरो २०२५ को सेमिफाइनलमा स्पेन बुधबार आठ पटकको च्याम्पियन जर्मनीसँग भिड्दैछ। अघिल्ला आठ भेटमा स्पेनले पाँच पटक हार बेहोरेको छ भने तीन खेल बराबरीमा सकिएको छ।
‘मैले गत सात वर्षमा पाँच पटक जर्मनीविरुद्ध खेलेको छु,’ स्पेनकी प्रशिक्षक मोन्त्से टोमेले मंगलबार भनिन्, ‘हामी सधैं हार्थ्यौं, तर हरेकपटक उनीहरूलाई हराउने नजिक पुगिरहेका थियौं। अहिले हामी अर्को स्तरमा छौं। तर, जर्मनी भनेको सधैं जर्मनी नै हो।’
विश्वकप र नेसन्स लिग जितिसकेको स्पेन स्विट्जरल्यान्डलाई पराजित गर्दै युरोपियन च्याम्पियनसिपको सेमिफाइनल पुगेको हो, २८ वर्षपछि दोस्रो पटक। अब उसले इतिहासमा पहिलो पटक उपाधि जित्ने सपना देखिरहेको छ।
पछिल्ला १५ खेलमध्ये स्पेनले १२ जितेको छ। त्यसमध्ये एक मात्र हार गत वर्षको पेरिस ओलम्पिकमा जर्मनीसँगको कांस्य पदकको खेलमा १–० को थियो।
स्पेनकी कप्तान एलेक्सिया पुटेलासले भनिन्, ‘हरेक खेलाडीले इतिहास लेख्न खोजिरहेको हुन्छ। मलाई लाग्छ यो खेल बदला होइन, अवसर हो। ओलम्पिक एउटा फरक प्रतियोगिता थियो। त्यो हारसँग यो खेलको कुनै सम्बन्ध छैन। हामीले पहिलोपटक जर्मनीलाई हराउने अवसर पाएका छौं।’
स्पेनलाई यसपटक फाइनल पुग्ने प्रबल दावेदार मानिएको छ। तर, जर्मनीलाई कहिल्यै सहजै हराउन सकिँदैन। क्वार्टरफाइनलमा फ्रान्सविरुद्ध खेलको १३औं मिनेटमै मिडफिल्डर क्याथ्रिन हेन्ड्रिखले विपक्षी खेलाडीको कपाल तानेर रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित हुँदा पनि जर्मनीले पेनाल्टी सुटआउटमा जित निकाल्यो।
‘फ्रान्सविरुद्धको प्रदर्शन हाम्रा लागि खाका हो,’ जर्मन डिफेन्डर रेबेका क्नाकले भनिन्, ‘हामीले जुन जोश, मानसिक बल र एकता देखायौं त्यही विशेषता स्पेनविरुद्धको खेलमा पनि चाहिन्छ।’
जर्मनीले त्यसअघि समूह चरणको अन्तिम खेलमा स्विडेनसँग ४–१ को हार भोग्दा पनि पहिलो हाफमै कार्लोटा वाम्सरले रातो कार्ड पाएकी थिइन्।
अब उनी प्रतिबन्ध सकिएर फर्किइने छिन्। तर, जर्मनीको डिफेन्स लाइन फेरि पुनर्गठित गर्नुपर्नेछ। हेन्ड्रिख प्रतिबन्धमा छिन् भने कप्तान गिउलिया ग्विन र सराइ लिन्डर घाइते छन्।
मिडफिल्डर स्जोके न्युस्केनले पनि फ्रान्सविरुद्ध दोस्रो पहेँलो कार्ड पाएपछि सेमिफाइनल खेल्न पाउने छैनन्। क्नाक भन्छिन्, ‘हामीले जुनसुकै परिस्थिति पनि सहजै स्वीकार्य बनायौं। हरेक अनौठो मोडमा पनि हामी एउटै समूहजस्तो टिक्यौं। को–को खेल्दैछन् भन्नेभन्दा पनि टोलीको एकता महत्त्वपूर्ण हुन्छ।’
अर्कोतर्फ, साबिक विजेता इंग्ल्यान्डले मंगलबार अर्को सेमिफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ। युरो २०२५ को फाइनल खेल आइतबार बासेलमा हुनेछ।