काठमाडौं। सुविन श्रेष्ठ र रिहान्ना शेरचनले राष्ट्रिय स्तरीय जुनियर यु १९ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।
टोखा नगरपालिका र डिबीए एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगिताको यु१९ ब्वाइजतर्फ त्रिभुवन आर्मी क्लबका सुविनले सुनसरी ब्याडमिन्टन एकेडेमीका एन्ड्रियज लिम्बूलाई २१–१९ र २१–१७ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जिते। यस विधामा इमा तामाङ र सुदेश राजकोटी तेस्रो भए।
गर्ल्सतर्फको फाइनलमा आर्मीकी रिहान्ना शेरचनले लालिगुराँस स्कुलकी अस्मिता खत्रीलाई २१–१३ र २१–१३ ले हराइन्। निभा राई र प्रेन्सा श्रेष्ठ तेस्रो भए। यु१९ विधाका प्रथम हुनेले ट्रफी मेडल सहित २० हजार जिते भने दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार हात पारे।
यस्तै, यु १५ ब्वाइजतर्फ आर्मीका सुदेश राजकोटी पहिलो भए। उनले इमा तामाङलाई १६–२१, २१–१४ र २१–१८ ले हराए। कैलालीका आदित्य चौधरी र आर्मीका दीप थिङ तेस्रो भए। यु१५ गर्ल्सतर्फ निभा राईले समृद्धी श्रेष्ठलाई २१–१६ र २१–१६ ले हराउँदै स्वर्ण पदक जितिन्। अस्मिता खत्री र सविज्ञा दाहाल तेस्रो भए।
यु१३ विधामा ब्वाइजतर्फ आर्मीका दिप थिङले आफ्नै क्लबका रिजन मगरलाई २१–१० र २१–१० को सोझो सेटमा हराउँदै पहिलो भए। रोजमेरी स्कुलका दियोन भण्डारी र एमबीबीएफका सक्षम गुरुङ तेस्रो भए। गर्ल्सतर्फ सुनसरीकी सविज्ञा दाहालले आर्मीकी अजरेन्का शेरचनलाई २१–१८ र २१–११ ले हराउँदै पहिलो भइन्। ग्यालेक्सी पब्लिक स्कुलकी अर्चना मगर र एपीएफकी आकृति कार्की तेस्रो भए।