काठमाडौं। चीन विश्वकपको दौडबाट बाहिरिएको छ।
जकार्तामा बिहीबार राति इन्डोनेसियासँग १–० को हार बेहोरेपछि सन् २००२ पछि पहिलो पटक विश्वकप खेल्ने चीनको सपना चकनाचुर भएको हो। त्यो वर्ष एसियामा पहिलोपटक विश्वकप आयोजना भएको थियो।
दक्षिण कोरिया र जापान आयोजक राष्ट्र थिए। त्यसैले यी दुईले छनोट खेल्न परेको थिएन। सोको फाइदा चीनले उठाएको थियो।
चीन हाल एसियाली छनोटको समूहमा सबैभन्दा तल्लो स्थानमा छ। उक्त समूहमा जापान, अस्ट्रेलिया, साउदी अरब, बहराइन र इन्डोनेसिया पनि छन्।
चीनका मुख्य प्रशिक्षक ब्रान्को इभान्कोभिकले हारको जिम्मेवारी लिँदै भने,‘हामी विगत २० वर्षदेखि यो सपना साकार पार्न संघर्ष गर्दै आएका थियौं। तर, हामी असफल भयौं। मुख्य प्रशिक्षकको हैसियतले म यसको जिम्मेवारी लिन्छु।’
उनले नयाँ पुस्ताका खेलाडीले राम्रो प्रदर्शन गरेकाले भविष्य उज्यालो हुने विश्वास व्यक्त गरे। चीन विश्वकपको दौडबाट बाहिरिएसँगै उजबेकिस्तान र जोर्डनले पहिलो पटक आफ्नो स्थान सुरक्षित गरेका छन्। दक्षिण कोरियाले ११औं पटक लगातार विश्वकप खेल्ने अवसर सुरक्षित गरेको छ।