आर्मीको फाइनल सम्भावना बलियो

काठमाडौं। लुम्बिनी प्रदेशलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल सम्भावना बलियो बनाएको छ।
आइतबार सम्पन्न खेलमा आर्मीले लुम्बिनीलाई १३१ रनले पराजित गरेको हो। यो नतिजासँगै आर्मीले आठ खेलबाट १४ अंक पुर्याएको छ। आर्मी तेस्रो स्थानको एपिएफभन्दा ६ अंकले अगाडि छ। यद्यपि, एपिएफले भने दुई खेल कम खेलेको छ।
लुम्बिनीको आठ खेलबाट आठ अंक नै छ। शीर्ष दुईमा रहने टोलीले उपाधिका लागि फाइनल खेल्नेछन्। आर्मीले प्रस्तुत गरेको २४४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २७.१ ओभरमा सबै विकेट गुमाउँदै ११२ रन बनायो।
लुम्बिनीका कप्तान देव खनालले सर्वाधिक ३७ रन बनाए। ४६ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। मनिष थापा र बिप्रसनले समान १३ रन बनाउँदा अन्यको ब्याटिङ उत्कृष्ट रहेन।
आर्मीका शाहब आलमले सर्वाधिक चार विकेट लिए। ९.१ ओभर बलिङ गरेका उनले दुई मेडनसहित २५ रन खर्चिए। नरेन साउद दुई तथा सोमपाल कामी, आकाश चन्द र बसिर अहमदले समान एक विकेट लिए।
त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ४९.२ ओभर सबै विकेट गुमाउँदै २४३ रन बनायो।
आर्मीका बसिरले सर्वाधिक ८६ रन बनाए। १०४ बल खेलेका ६ चौका प्रहार गरे। भीम सार्कीले ५३ बलमा एक चौका र एक छक्कासहित ४४ रन बनाए।
त्रितराज दास ३१, सोमपाल कामी २८, कुशल मल्ल १७ र इमरान शेखले १२ रन बनाए। लुम्बिनीका अजय चौहानले सर्वाधिक चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४७ रन खर्चिए।
कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, बिप्रसन, नर सार्की र देवले समान एक विकेट लिए।








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





