गण्डकीलाई ३१ रनमै रोक्दै कोशीले निकाल्यो पहिलो जित

काठमाडौं। गण्डकी प्रदेशमाथि गत वर्षको बदला लिँदै कोशी प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित हात पारेको छ।
आइतबार सम्पन्न खेलमा कोशी नौ विकेटले विजयी भएको हो। जितसँगै कोशीले पाँच खेलबाट दुई अंक जोडेको छ। गण्डकीको भने यो तेस्रो हार हो। गण्डकीको पनि समान दुई अंक छ।
गण्डकीले दिएको ३२ रनको लक्ष्य कोशीले ८.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो। प्रधानमन्त्री कपमा विपक्षीले पाएको यो दोस्रो न्यून लक्ष्य हो। गत वर्ष मूलपानीमा भएको खेलमा गण्डकीले कोशीलाई २५ रनमै अलआउट गरेको थियो।
कोशीका सकिब हकले सर्वाधिक १६ रन बनाए। चिराग साह १० रनमा आउट हुँदा सोनु अन्सारी चार रनमा अविजित रहे।
गण्डकीका सुवास भण्डारीले एक विकेट लिए।
त्यसअघि भैरहवाको एक्स्ट्रा टेक ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले २०.४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रन बनाएको थियो।
गण्डकीका कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेन। कोशीका विपिन महतोले सर्वाधिक ६ विकेट लिए।
फिर्दोश अन्सारीले तीन र दीपेश कँडेलले एक विकेट लिए।













-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)