विराटनगर। प्रधानमन्त्री कप क्रिकेटको छनोट प्रतियोगिता अपराजित रहँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ। कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा पनि जित निकाल्दै आठ अंक साथ सुनसरी शीर्ष स्थानमा उक्लिएको हो।
बैजनाथपुरको क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सुनसरीले उदयपुरलाई पाँच विकेटले पराजित गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको उदयपुरले निर्धारित ५० ओभरमा २४.४ ओभरमा सबै विकेट गुमाउँदै ५० रन बनाएको थियो। उदयपुरका लागि सुशान्त तिमल्सिनाले सर्वाधिक १७ रन बनाए। उदयपुरका दीपकराज जोशीले सर्वाधिक तीन विकेट लिए।
जितका लागि ५१ रनको लक्ष्य पाएको सुनसरीले ९.१ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो। सुनसरीका लागि सोनु मण्डलले सर्वाधिक १३ रनको योगदान दिए। सुनसरीका प्लेयर अफ द म्याच प्रकाश कार्कीले सर्वाधिक चार विकेट लिए।
यसैगरी मेरिवोन ज्वाला क्रिकेट मैदानमा बिहीबार नै भएको दोस्रो खेलमा मोरङले झापालाई ९ विकेटले पराजित गरेको छ। मोरङले चारमध्ये तीन खेलमा जित निकाल्दै ६ अंक जोड्दै दोस्रो भयो। झापाले चारमध्ये दुई खेलमा जित निकाल्दै चार अंक जोड्दै तेस्रो स्थान ओगट्न सफल भयो।
टस जितेर पहिला ब्याटिङ गरेको झापाले निर्धारित ५० ओभरमा ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाउन सक्यो। झापाका भुपाल दङ्गालले सर्वाधिक ३९ रनको योगदान दिए। मोरङका श्रवण किस्कु र अमर यादवले समान तीन विकेट लिए।
जितका लागि ११५ रनको चुनौती पाएको मोरङले २९.१ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो। मोरङका प्लेयर अफ द म्याच सकिब हकले अविजित ५२ रन बनाउँदा मिनस थापाले अविजित ४७ रनको योगदान दिए। झापाका विपिनकुमार महतोले एक विकेट लिए।
लिगको आधारमा खेलाइएको खेलमा मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरसहित पाँच टिमको सहभागिता थियो। छनोट खेलमा अङ्कका आधारमा क्रमशः शीर्ष स्थानमा रहने तीन टिमबीच आगामी चैत पहिलो हप्ता इलाइट कप खेलाइने कोशी क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डेले जानकारी दिए।