काठमाडौं। चेल्सी यो सिजन इङ्लिस प्रिमियर लिगको प्रमुख दाबेदारका रूपमा अगाडि बढेको छ।
आइतबार भएको रोमाञ्चक लन्डन डर्बीमा चेल्सीले पहिलो ११ मिनेटमा दुई गोल खाए पनि अन्ततः टोटनह्याममाथि ४–३ को पुनरागमन जित निकाल्यो। यो जितपछि चेल्सी शीर्ष स्थानको लिभरपुलभन्दा चार अंक (३१)ले पछि परेको छ। खेलमा कोल पामरले ‘पनेन्का’ शैलीमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई जिततर्फ डोर्याए।
यसैबीच लिभरपुलले शनिबारको मर्सिसाइड डर्बी (एभर्टनसँगको खेल) स्थगित गरेपछि शीर्ष स्थानको होड थप रोचक बनेको छ। आर्सनलले पनि फुलह्यामसँग १–१ को बराबरी खेलेको छ, जसले गर्दा शीर्ष स्थानको दौडमा चेल्सीलाई दबाब कम भएको छ।
चेल्सीका मुख्य प्रशिक्ष एन्जो मारेस्काले यस सिजन चेल्सीलाई उपाधि दाबेदार मान्न हतार गर्न नहुने बताउँदै आएका छन्। उनी भन्छन्, ‘चेल्सीको युवा टोलीमा अझै धेरै सुधार गर्न बाँकी छ।’ तर, पछिल्लो पाँच स्थानान्तरण विन्डोमा १.३ बिलियनभन्दा बढी खर्च गर्दै चेल्सीले अन्ततः एक सुसंगत टोली तयार गरेको छ।
पामरजस्ता खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पामरले यस सिजनमा १२ पेनाल्टीमा शतप्रतिशत गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। उनले चेल्सीका लागि ४८ खेलमा ३३ गोल र १७ असिस्ट गरेका छन्।
सिटीका लागि एर्लिङ हालान्ड (३९ खेल), न्यूक्यासलका लागि एन्डी कोल (४३ खेल) र लिभरपुलका मोहम्मद सलाह (४६ खेल) ले मात्र ५० गोल गरेका छन् । चेल्सीले पछिल्ला चार लिग खेलमा १४ गोल गर्दै सानदार प्रदर्शन गरिरहेको छ।
यसअघि चेल्सीले लिगमा केवल म्यानचेस्टर सिटी र लिभरपुलविरुद्ध हार बेहोरेको थियो। डिफेन्डर लेभी कोलविलले भने, ‘हामीले उपाधिका लागि दाबेदारी प्रस्तुत गर्न अझै धेरै काम गर्नुपर्नेछ। पहिलो १० मिनेटमा दुई गोल खानु हाम्रो स्तर होइन।’
आर्सनलको प्रदर्शनमा भने सुधारको आवश्यकता छ। फुलह्यामविरुद्ध सेट पिस गोलले एक अंक दिलाए पनि टोलीले थप अवसरहरू गुमायो। आर्सनलले आफ्नो दूरी लिभरपुलसँग ६ अंकमा झारेको छ, तर उनीहरूको अवसर खेर गएको छ।