काठमाडौं। बंगलादेशलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै भारतले साफ यु–१९ च्याम्पियनसिपको उपाधि रक्षा गरेको हो।
गोल्डेन जुबली स्टेडियममा आइतबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ४–३ ले पराजित गरेको हो। यसअघि भारतले सन् २०२३ मा पाकिस्तानलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो।
यु–१९ समूहको प्रतियोगिता तेस्रोपल्ट आयोजना भएको हो। सन् २०१५ मा भएको पहिलो संस्करणमा पेनाल्टी सुटआउटमा भारतलाई ५–४ ले पराजित गर्दैनेपालले उपाधि घरैमा राखेको थियो। त्यसको दुई वर्षपछि भुटानमा भएको साफ यु–१८ च्याम्पियनसिपको फाइनलमा पनि भारतलाई २–० ले पराजित गर्दै नेपालले नै उपाधि हात पारेको थियो।
त्यसयताका प्रतियोगितामा भारत र बंगलादेशले दबदबा जमाउँदै आएका छन्। उमेरसमूहमा भारतको समग्रमा यो चौथो उपाधि हो। भारतले यसअघि यु–१८, यु–२०, यु–१९ को उपाधि जितिसकेको छ।
निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। त्यसपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको हो। पेनाल्टी सुटआउटमा भारत भाग्यमानी साबित भयो।
पेनाल्टी सुटआउटमा भारतका मोहम्मद अर्बाश, रोहेन सिंह, ऋषि सिंह, जोड्रिक अब्रान्चेस र सिंगमायुम शमीले गोल गरे। बंगलादेशका मिठु चौधरी, मुर्सेद अली र जोय अहमदले गोल गरे। नजमुल फैसलको प्रहार आकासिएको थियो। उद्दिन साहेदको प्रहार भारतीय गोलकिपर सुजर सिंहले रोके।
खेलको दोस्रो मिनेटमै भारतले सुरुआती अग्रता लिएको थियो। सिंगमायुम शामीले प्रहार गरेको फ्रिकक बल सिधै गोलमा परिणत भएको थियो।
तर, ६१औं मिनेटमा जोय अहमेदले बराबरी गोल फर्काए। उनले हुलमुलमा प्रहार गरेको बल भारतीय गोलकिपर सुजरको ढाडमा लाग्दै गोलमा परिणत भएको थियो।