काठमाडौं। एफए कप फाइनलमा शनिबार क्रिस्टल प्यालेससँग अप्रत्याशित हार बेहोरेपछि म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डियोला मैदानमै विपक्षी गोलकिपरसँग डिन हेन्डरसनविरुद्ध रुष्ट देखिए।
खेलको क्रममा उनले अनावश्यक रूपमा समय खेर फालेको भन्दै ग्वार्डियोला असन्तुष्ट देखिएका हुन्। खेल सकिएपछि वेम्ब्ली स्टेडियममा उनले हेन्डरसनलाई बारम्बार नजिक पुगेर केही भनिरहेका थिए।
‘उसले आफ्नो पक्षको बचाव गर्यो, हामीले हाम्रो गर्यौं,’ग्वार्डियोला भन्छन्, ‘अन्तिम केही मिनेटमा समय खेर फाल्नुलाई म सकरात्मक मान्छु। तर, खेल सुरु भएको एक–दुई मिनेटदेखि नै... । ऊ ब्रिटिश खेलाडी हो। इङ्ल्यान्डको संस्कृति फुटबलमा खेल्नुपर्छ भन्ने छ।’
उनी थप्छन्,‘सबैले जे गर्न चाहन्छन् गर्न सक्छन्। तर गोल त गर्नैपर्छ। हामी हेन्डरसनको समय फाल्ने कारणले हारेका होइनौं। मेरा टोलीले कहिल्यै समय फाल्ने रणनीति अपनाएका छैनन्। किनभने म चाहन्छु दर्शकहरूले हेर्नलायक खेल हेऊन्।’
प्यालेसका एबेरची एजेले गरेको गोल नै यो खेलमा निर्णायक बन्यो। हेन्डरसनले पहिलो हाफमा ओमार मार्माउशको पेनाल्टी बचाएका थिए। ‘आजको दिन हाम्रो हुने आभास थियो, हेन्डरसनले भने। प्रशिक्षकले उत्कृष्ट योजना बनाउनु भएको थियो। हामीले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्यौं। यो जितको हामी पूरै हकदार छौं।’
खेलको सुरुआततिर हेन्डरसनले बाक्स बाहिर बल समातेका थिए। योसँगै एर्लिङ हाल्यान्डले गोल गर्ने अवसर गुमाए। यो क्षण विवादास्पद बन्यो। ग्वार्डियोलाले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरे। तर. प्यालेसका प्रशिक्षक ओलिभर ग्लास्नर भने रमाइला रूपमा प्रतिक्रिया दिए।
‘मैले औंला बाँधेर भिएरले हस्तक्षेप नगरोस् भन्ने प्रार्थना गरें। सबै कुरा योजना अनुसार चल्यो,’ उनी हाँस्दै भन्छन्।