काठमाडौं। बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केन दाहिने तिघ्रामा चोट लागेको पुष्टि भएको छ। त्यही चोटका कारण मंगलबार जर्मन कपअन्तर्गत बायर लेभरकुजेनसँगको खेल गुमाउने सम्भावना रहेको क्लबले आइतबार जानकारी दिएको छ।
३१ वर्षीय केन यो सिजन जर्मन बुन्डेसलिगामा सर्वाधिक गोल हुन्। उनले ले १२ खेलमा १४ गोल गरेका छन्। सबै प्रतियोगितामा उनको गोल संख्या २० पुगेको छ।
शनिबार बोरुसिया डर्टमुन्डसँगको १–१ गोलको बराबरीमा रोकिएको खेलको पहिलो हाफमा उनी मैदानबाट बाहिरिएका थिए। बायर्नले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केनको दाहिने तिघ्राको मांसपेशीमा चोट लागेको छ।’
बायर्नका प्रशिक्षक भिन्सेन्ट कोम्पनीले मंगलबारको खेलका लागि केन फिट नहुने पक्का रहेको बताएका छन्। जर्मन मिडियाका अनुसार इङ्ल्यान्डका कप्तान केन कम्तीमा दुई हप्ता मैदानबाहिर रहनेछन्। बुन्डेसलिगाको शीर्ष स्थानमा रहेका बायर्नले शनिबार हेडेनहाइमसँग खेल्ने छ।