काठमाडौं। चेल्सी महिला फुटबल टोलीले यो सिजन घरेलु ट्रेबल (तीन उपाधि) जितेको छ।
अपराजित रहँदै घरेलु सिजन सम्पन्न गरेको चेल्सीले वुमेन्स एफए कपमा म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो। लन्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनल खेल हेर्न टेनिस खेलाडी सेरेना विलियम्स आफ्नो पति तथा रेडिटका सह–संस्थापक एलेक्सिस ओहानियनसँगै उपस्थित थिइन्।
केही दिनअघि मात्र ओहानियनले चेल्सी महिला टिमको लगभग १० प्रतिशत स्वामित्व करिब २० मिलियन पाउन्डमा किनेको घोषणा गरेका थिए। ओहानियन अब इङ्लिस महिला फुटबलमा सर्वाधिक सफल क्लबको हिस्सा बनेका छन्।
चेल्सीले यस सिजन एफए कप, लिग कप र वुमेन्स सुपर लिग गरी तीनवटै घरेलु उपाधि जितेको छ। त्यो पनि एक खेलमा पनि नहारिकन। पछिल्ला पाँच वर्षमा यो क्लबले चौथो पटक एफए कप जितेको हो। पाँच वर्षभित्र दोस्रो पटक ट्रेबल हो।
खेलमा फ्रान्सकी अन्तर्राष्ट्रिय खेलाडी स्यान्डी बाल्टिमोरले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाइन्। दोस्रो हाफमा उनले क्याटारिना माकारियोलाई हेडरमार्फत गोल गर्न उत्कृष्ट फ्रीकिक दिइन्। इन्जुरी समयमा आफूले दोस्रो गोल गर्दै टोलीको सानदार जित सुनिश्चित गरिन्।
यसअघि चेल्सीले सिटीलाई हराएर लिग कप जितेको थियो। वुमेन्स सुपर लिगमा चेल्सी २२ खेलमध्ये कुनै पनि नहारी अपराजित सिजन सम्पन्न गर्ने पहिलो टोली बनेको थियो।
सोनिया बोम्पास्टोरको प्रशिक्षकत्वमा पहिलो सिजनमै चेल्सीले यो ऐतिहासिक सफलता हात पारेको हो। यो सिजन चेल्सीले सबै प्रतियोगितामा जम्मा दुई खेल मात्र हारेको छ। ती दुवै युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोनाविरुद्ध थियो।