ब्युनस आयर्स। पहिलो मिनेटमै १० खेलाडीमा समेटिएको बोटोफोगो ‘ब्राजिलियन डर्बी’ मा एट्लेटिको मिनेइरोलाई ३–१ ले पन्छाउँदै क्लबको १२३ वर्षको इतिहासमा पहिलोपल्ट कोपा लिबेरटाडोर्सको उपाधि जितेको छ।
अर्जेन्टिनी राजधानीस्थित रिभरप्लेटको रंगशालामा फाइनल सुरु भएको ३० सेकेन्डमै बोटाफोगो सकंटमा परेको थियो, जति बेला उसका मिडफिल्डर ग्रेगोरलाई फाउसो भेराको टाउकोमा डरलाग्दो किक हानेपछि रातो कार्ड देखाउँदै मैदानबाहिर पठाइएको थियो। त्यसैले लुईज हेनरिकले ३५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपछि बोटोफोगोका समर्थकले अत्यधिक खुसी मनाएका थिए।
१० खेलाडीमा रहेको बोटोफोगोलाई दर्शकले खुबै जिस्क्याए। गोलकर्ता हेनरिकलाई एट्लेटिकोका गोलकिपर एभर्सनले फउल गरेपछि पाएको पेनाल्टीमा म्यानचेस्टर युनाइटेडका पूर्वडिफेन्डर एलेक्स टेलेसले गोलमा परिणत गर्दै ४४औं मिनेटमा बोटोफोगोको अग्रता दोब्बर बनाए।
सब्स्टिच्युट जुनियर सान्तोसले इन्ज्युरी समयको सातौं मिनेटमा तेस्रो गोल गर्दै बोटोफोगोको ऐतिहासिक जितलाई पूर्णता दिएका थिए। लगभग पूरा खेलमै संख्यात्मक रुपमा बढी भए पनि एट्लेटिको फाइनलमा संघर्षरत रह्यो। एडुआर्डो भार्गास्ले दोस्रो हाफको सुरुमै ब्राजिलका ३८ वर्षीय फरवार्ड हल्कको कर्नरमा गोल गरे पनि त्यो सान्त्वनामै सीमित भयो। उनले बराबरी गर्ने एक राम्रो अवसर गुमाएका थिए।
फाइनलमा भरिभराउ ८० हजार दर्शकले फुटबलको सबै खाले रोमाञ्चक अनुभव गर्न पाएका थिए। दक्षिण अमेरिकी क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको ट्रफी लगातार छैटौंपल्ट ब्राजिली क्लबले चुमेको हो। यो उपाधिसँगै बोटाफोगो फिफा इन्टरकन्टिनेन्टल कप २०२४ र फिफा क्लब विश्वकप २०२५ मा छनोट भएको छ।