काठमाडौं। साबिक विजेता बंगलादेश साफ महिला च्याम्पियनसिप २०२४ मा पाकिस्तानसँग हारबाट जोगिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले पाकिस्तानसँग १-१ बराबरी खेलेको हो।
योसँगै समूह ‘ए’ मा रहेको पाकिस्तानले पहिलो अंक जोडेको छ। पहिलो खेलमा भारतसँग पाकिस्तान ५-२ ले पराजित भएको थियो। बंगलादेशको भने पहिलो खेल हो।
शीर्ष स्थानमा रहेको भारत एक खेलअगावै सेमिफाइनलमा पुगेको छ। यद्यपि, पाकिस्तानको भने सेमिफाइनलमा पुग्ने सम्भावना जीवित्तै छ। यो समूहको अन्तिम खेलमा बंगलादेशले बुधबार भारतको सामना गर्नेछ।
पहिलो हाफमै पाकिस्तानले जालिमा मलिकको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले खेलको ३१औं मिनेटमा गोल गरेकी हुन्। तर, बंगलादेश दोस्रो हाफको इन्जुरी समयमा खेलमा फर्कियो। शाम सुनहार जुनियरले गोल गर्दै बंगलादेशलाई हारबाट जोगाइन्।