काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ ।
मंगलबार बैंककको टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले ५८ रनको जित हात पारेको हो।
थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गर्दै ९ विकेट गुमाउँदै ८० रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि कवितार कुँवरले २४, रजाजमति ऐरीले अविजित २० र रुविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक चार विकेट लिइन् ।
यसैगरी थिपाचा पुथावोङले तीन र सुलेपोर्न लाओमीले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रनको योगाफल तयार पारेको थियो ।
थाइल्यान्डका नन्नापत कोन्चारोएनकाई २८ बलमा आठ चौकाको मद्दतले अविजित ५० रनको योगदान गरिन् । यसैगरी नटाया बुचथमले ४२ बलमा पाँच चौकासहित ५०, अपिसरा सुवान्चोराथीले २९ र नथ्थकन चन्थमले अविजित १५ बनाए ।
नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एक विकेट लिए ।