काठमाडौं। राष्ट्रिय महिला टोलीका डिफेन्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाही कम्तिमा ९ महिना मैदानबहिर रहने भएका छन्। साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भुटानविरुद्ध समूह ‘बी’ को पहिलो खेलमा दुवै खेलाडीले चोट बोकेका थिए।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार दुवै खेलाडीले एसिएलको चोट बोकेका हुन्। टोलीकी डाक्टर ज्योति राई र फिजियोथेरापिस्ट नवीना बैद्यले आइतबार दुवै खेलाडीको एकै दिन शल्यक्रिया हुने जानकारी दिइन्। फिजियोथेरापिस्ट बैद्यका अनुसार एसिएलको शल्यक्रियाबाट निको हुन सामान्यतया ९ महिना लाग्ने गरेको छ।
भुटानविरुद्धको पहिलो खेलमा नेपालले गोलरहित बराबरी खेल्दा भुजेल र शाहीलाई प्रतिस्थापन गरिएको थियो। उनीहरूलाई अस्पताल लगिएको थियो। स्क्यान गर्दा उनीहरूको चोटको मात्रा पुष्टि भएको एन्फाले जनाएको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले चोट लागेकै दिन हिराकुमारी र दीपा दुवैले साफ च्याम्पियनसिपका बाँकी खेल गुमाउने बताएका थिए। ‘टिम डाक्टर र फिजियोले उनीहरूले बाँकी खेल्न सक्दैनन् भन्नु भएको छ। त्यसैले उनीहरूले साफ गुमाउने छन्,’ उनले भनेका थिए।
लेफ्ट ब्याक हिरा पहिलो हाफको इन्जुरी समयमा मैदानबाट बाहिरिएकी थिइन्। उनको स्थानमा विमला विक मैदान प्रवेश गरेकी थिइन्। मिडफिल्डर दीपा ४६औं मिनेटमा सरु लिम्बूको स्थानमा मैदान प्रवेश गरेकी थिइन्। उनी खेलको अन्तिमतिर मैदानबाट बाहिरिएकी थिइन्। उनको स्थानमा अनिता केसी मैदान प्रवेश गरेकी थिइन्।