नेपालको लगातार दोस्रो हार

काठमाडौं। क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी विश्वकप लिग-२ मा लगातार दोस्रो हार बेहोरेको छ।
बिहीबार बिहान सम्पन्न दोस्रो खेलमा ओमानसँग नेपाल एक विकेटले पराजित भएको हो। यसअघि नेपाल घरेलु टोलीसँग १०३ रनले पराजित भएको थियो।
नेपालले ओमानलाई २२१ रनको लक्ष्य दिएको थियो। तर, उक्त लक्ष्य पछ्याएको ओमानले एक बल बाँकी छदै नौ विकेट गुमाएर २२३ रन बनायो।
ओमानका ओपमर जतिन्द्र सिंहले सर्वाधिक ४१ रन बनाए। काश्यप प्रजापतीले ३६, कप्तान अकिव इलियासले २९, प्रतीक अथाभालेले ३६, शोइब खानले २६ रन बनाउँदा शकिल अहमेद १७ रन बनाउँदै अविजित रहे।
नेपालका गुलसनकुमार झाले सर्वाधिक पाँच विकेट लिए। करण केसीले दुई विकेट लिँदा सन्दीप लामिछाने र आरिफ शेखको नाममा समान एक विकेट रह्यो।
त्यसअघि नेपालले गुलसनकै आक्रामक इनिङ्समा निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२० रन बनाएको थियो। कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ६० रन बनाए। गुलसनले ३५ बलमा तीन चौका र पाँच छक्कासहित ५३ रन बनाउँदा आरिफ शेखले ३५ रनको योगदान दिए। अन्यको प्रदर्शन भने राम्रो हुन सकेन।







-1776781891908.jpeg&w=3840&q=75)








