लज्जास्पद हारबाट सुरु भयो नेपालको क्यानडा भ्रमण

काठमाडौं। नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडा भ्रमण लज्जास्पद हारबाट सुरुआत गरेको छ।
क्यानडाको ओन्टेरियोमा मंगलबार बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल १०३ रनले पराजित भएको हो। क्यानडासँग नेपाल पहिलोपल्ट एकदिवसीय फर्म्याटमा पराजित भएको हो।
गत फ्रेबुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भ्रमणकारी टोली क्यानडालाई सात रन, चार र ९ विकेटले पराजित गर्दै नेपालले तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको थियो।
यसपल्ट नेपाल त्यही लय दोहर्याउने लक्ष्यमा थियो। तर, क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रन मात्रै बनाउन सक्यो।
नेपाली टोलीका तल्लो क्रमका ब्याटर करण केसीले सर्वाधिक २७ रन बनाए। २४ बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। सन्दीप लामिछानले २२, आसिफ शेख २०, भीम सार्की १८, गुलसनकुमार झा १५ र कुशल मल्ल १२ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
क्यानडाका डिलोन हेलिगरले सर्वाधिक पाँच विकेट लिए। १० ओभर बलिङ गरेका उनले ३१ र खर्चिए। अखिल कुमार र अंश पटेलले समान दुई विकेट लिँदा साद बिन जाफरको नाममा एक विकेट रह्यो।







-1776781891908.jpeg&w=3840&q=75)








