काठमाडौं। डिफेन्डिङ च्याम्पियन सुवास तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।
शुक्रबार ४ अन्डर ६८ को कार्ड तयार गर्दै सुवासले समग्रमा १६ अन्डर २ सय ७२ को सानदार नतिजामा उपाधि आफ्नो नाममा लेखाए। प्रो बनेपछिको पहिलो उपाधि जितेका उनले दुई लाख ७५ हजार रुपैयाँ प्राप्त गरे।
समग्रमा १४ अन्डर २ सय ७४ को स्कोरमा निरज र भुवनले संयुक्तरुपमा दोस्रो स्थान बाँडे। निरजले ५ अन्डर ६७ र भुवनले ३ अन्डर ६९ को स्कोर दर्ज गरे। उनीहरूले जनही एक लाख ४८ हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे। दिनेश प्रजापतिले १ अन्डर ७१ सहित समग्रमा १२ अन्डर २ सय ७६ को स्कोरमा चौथो भए। उनले एक लाख दुई हजार हात पारे।