नवलपुर । नवलपुरमा जारी राईनो संरक्षण गोल्डकप फुटबलमा २८ विगाहा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबार ए डिभिजन क्लब संकटालाई हराउँदै २८ विगाहा क्लब प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
२८ विगाहाको जितमा समिर तामाङ्गले दुई गोल गरे । संकटाका गणेश हमालले एक गोल गरे ।
खेलमा अग्रता २८ विगाहाले नवौं मिनेटमा समिरको गोलमा लिएको थियो । समिरले ३२ औं मिनेटमा घरेलु टोलीका अग्रतालाई दोब्बर बनाएका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा गणेशले गोल गर्दै संकटालाई खेलमा फर्काउने कोशिश गरेका थिए । दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन नसकेपछि घरेलु टोली विजयी बनेको हो ।
दोस्रो हाफको २६ औं मिनेटमा संकटाका कप्तान चन्दन दासले हेडर प्रहार पोस्टको बार लागेर बाहिरिएको थियो । दोस्रो हाफको ३८ औं मिनेटमा संकटाका मनिष पौडेलले प्रहार गरेको सट टप बारमा लागेर बाहिरिएको थियो ।
२८ विगाहाका समिर तामाङ्ग खेलको म्यान अफ दी म्याच घोषित भए ।
पहिलो सेमिफाइनलमा भोलि आईतबार पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
राईनो क्लब मध्यबिन्दु नवलपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा १२ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।